काठमाडौं, वर्तमान संसदीय व्यवस्थाका कारण भ्रष्टाचार, वेथिति र कुशासन बढेकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश खारेजीको एजेण्डा बोकेको राष्ट्रिय मातृभूमि पार्टीले युवाहरु संगठित गर्ने उद्देश्यले संविधान दिवसको दिन पारेर पार्टीको सभा हलमा भेला आयोजना गर्‍यो । विभिन्न पृष्ठभूमि भएका युवाहरुको भेलाले Young Motherland Force  युवा मातृभूमि शक्ति ‘युमाश’ नामको संगठन गठन गरी दिल बहादुर (डीवी) विश्वकर्माको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति चयन गरेको छ । 

राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेको सभापतिमा भएको भेलाको उद्घाटन कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष टुलराज वस्याल महासचिव गोविन्द गिरी, उपमहासचिव लक्ष्मीदत्त भट्ट सचिव तोप गुरुङ, तेजेन्द्र प्रसाई तथा केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो । सभापतिको आसनबाट भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्री रामशरण पाण्डेले युवाशक्ति परिवर्तनका वाहक भएकोले एकजुट बनेर मुलुकको तमाम विकृति विसंगति विरुद्ध लड्नु पर्छ भन्नु भयो । उहाँले मुलुकमा गणतन्त्र आए पनि सिमित व्यक्तिले गणतन्त्रको आडमा लुटेको र मुलकको अर्थतन्त्र धराशायी बनेर राष्ट्रियता समेत संकटमा परेको बताउनु भयो । संसदीय व्यवस्थाको खारेजी र नयाँ ढँगको जनतान्त्रिक व्यवस्थाको स्थापनाको लागि एक जुट हुन उहाँले अपील गर्नु भयो । पार्टीको भातृ संस्थाका रुपमा गठन भएको मातृभूमि युवा शक्तिलाई आवश्यक सहयोग र संरक्षण गर्न पार्टी संगठन तयार रहेको अध्यक्ष पाण्डेले बताउनु भयो । 

भान्सा नै औषधालयका अभियन्ता रोमलाल गिरीले युवा शक्तिले नेपाल आमा, पृथ्वी आमा र जन्म दिने आमाको मुहार हसाउन र प्रकृति र संस्कृति बचाउन भूमिका खेल्नु पर्ने बताउनु भयो । भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध लड्दै राष्ट्रिय उत्पादनमा युवाशक्ति जुट्न उहाँले आग्रह गर्नु भयो । यसैगरी पार्टीका उपाध्यक्ष तथा अर्थविद् टुलराज वस्यालले मुलुकको अर्थतन्त्रको चित्र प्रस्तुत गर्दै आर्थिक रुपले मुलुक टाट उल्टिने अवस्थामा पुगेकाले युवालाई खवरदारीको लागि आग्रह गर्नु भयो । 

महासचिव श्री गोविन्द गिरीले आफु शुशासन अभियानमा लामो समय संलग्नरहेकाले पार्टीलाई अनुशासित ढंगले अघि बढाउन सक्रिय रहेको बताउनु भयो । पार्टीका मूलभूत सिद्धान्त राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालबादको संक्षिप्त व्याख्या गर्दै उहाँले युवा शक्तिको झण्डाको तीन तारा, मसाल र आमा चिन्ह बारे समेत व्याख्या गर्नु भयो । परिवर्तनका वाहक युवा शक्ति अब विदेश पलायन हुने होइन संघर्षको मैदानमा उत्रिएर भ्रष्टाचारीहरुलाई डाँडा कटाउन उहाँले आव्हान गर्नु भयो । सचिव तोप गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने, सचिव तेजेन्द्र प्रसाईले पनि मन्तव्य प्रस्तुत गर्नु भएको थियो । भ्रष्टाचार विरोधी अभियन्ता जनकवि भोला बरालले जोशिला ढंगका कविता प्रस्तुत गर्दै युवामा उर्जा भर्नु भएको थियो  । 

राष्ट्रिय स्तरका खेलाडी, कलाकार तथा विभिन्न पेशा व्यवशायमा आवद्ध अग्रज युवाहरु श्री सञ्जु राई, श्री गोकुल सुवेदी, श्री संघ रत्न शाक्य, श्री उमेश उप्रेती, भिमसेन रिसाल, श्री राजु चित्रकार, श्री दिपेश श्रेष्ठ, श्री अनिल श्रेष्ठ तथा विभिन्न क्षेत्रका युवाहरुको उपस्थिति रहेको थियो । समाजसेवी आनन्दराज जोशी अधिवक्ता सुरेन्द्र शर्माले पनि कार्यक्रममा अथित्यता ग्रहण गर्नु भएको थियो । भेलाले पार्टीको युवा तथा खेलकुद विभाग प्रमुख श्री दिल बहादुर विश्वकर्माको संयोजकत्वमा सम्मेलन आयोजक समितिको चयन गरेको छ । कार्यक्रमको सञ्चालन उपमहासचिव श्री लक्ष्मी दत्त भट्टले गर्नु भएको थियो । 

युवा मातृभूमि शक्ति राष्ट्रिय भेला आयोजक समिति निम्न बमोजिम रहेको छ । 

संयोजक श्री दिल बहादुर विश्वकर्मा सदस्यहरुमा राजुमुनी बज्राचार्य, राजु राई, देवेन्द्र बोहोरा, सरिता विष्ट, रेजिना नेपाली रहनु भएको छ । यसै गरी भेलाले प्रदेश संयोजनहरु पनि तोकेको छ । जस अनुसार कोशी प्रदेशमा उमेश उप्रेती, मधेश प्रदेश दिपेश श्रेष्ठ, बागमती प्रदेशमा राजुमुनी बज्राचार्य, गण्डकीमा संघरत्न शाक्य, सह–संयोजकमा राजेश श्रेष्ठ लुम्बिनी प्रदेश अनिश कुमार श्रेष्ठ, कर्णाली सञ्जु राई, सुदुर पश्चिममा लोकेन्द्र कुमाल रहनु भएको छ । 

यसैगरी जिल्ला तर्फ काठमाडौंमा संयोजक गोकुल सुवेदी, ललितपुर संयोजक राजु चित्रकार, काभ्रे पलाञ्चोकमा संयोजक विनायक पाण्डे, सिन्धुपाल्चोक संयोजक सुजन तामाङ सह संयोजक देवेन्द्र बोहोरा धादिङमा संयोजक रुपेश चेपाङ, सह–संयोजक सन्तोष चेपाङ र सचिवमा राजु चेपाङ रहनु भएको छ ।