काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताउनुभएको छ ।

बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेन्डा नरहेको स्पष्ट पार्नुभयो । 

उहाँले विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको बताउनु भयो । उहाँले विकासको लागि स्थायित्व अनिवार्य रहेको बताउनु भयो । 

उहाँले संविधानलाई समयानुकूल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट गर्न सकिने बताउनु भयो । 

संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै नहेर्ने भन्दै सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले युवा- पुस्ताकै बलमा मुलुक रूपान्तरण गर्न सकिने बताउनु भयो । उहाँले समाजमा आगो लगाउँछु भन्नेहरूबाटै युवा पुस्ताले आफूभित्रको केही गरौँ भन्ने आगोलाई बचाउन समेत आग्रह गर्नुभयो ।