काठमाडौं - आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । 

शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो ।  

विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनः निर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । 

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन छ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनको मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिनुभयो । 

३ः३० बजेसम्म भित्र छिर्न दिइने र, ४ः३० बजे बन्द हुने उहाँले बताउनुभयो ।

तत्कालका लागि धरहरा चढ्न निःशुल्क व्यवस्था मिलाइएको र यो अस्थायी व्यवस्था मात्रै रहेको बताउनुभयो । शुल्कको विषय छिट्टै टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

वि.सं २०७२ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा “मेरो धरहरा, मै बनाउँछु” भन्ने अभियान सुरु गरिएको थियो । 

वि.सं २०७५ असोज १४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु गरिएको थियो । विसं २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको थियो । 

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओभी डट एनपी’ नामक वेबसाइट सञ्चालन गरेको छ । 

धरहराको इतिहास
वि.सं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो ।

वि.सं १९१३ मा धरहरा चट्याङ्ग परी भत्कियो । विसं १९२३ मा धरहराको जिर्णोद्वार गरिएको थियो । वि.सं १९९० माघ २ मा महाभुकम्पमा परी धरहरा पुनः भत्किएको थियो । वि.सं १९९२ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुनः निर्माण गरिएपछि धरहरा ११ तल्लाबाट नौ तल्लामा सीमित भएको थियो । 

फेरि वि.सं २०७२ वैशाख १२ को विकासकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । हाल पुनः निर्माण गरी धरहरा सञ्चालनमा ल्याइएको हो ।