काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताउनुभएको छ ।
 
संविधान दिवसका अवसरमा आज सामाजिक सञ्जालबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौँ लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले संविधान निर्माण गरेको उल्लेख गर्नुभएको छ ।
 
संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै उहाँले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई यसले संरक्षण गरेको बताउनुभएको छ ।

जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि  नबिर्सन पनि उहाँले स्मरण गराउनुभएको छ ।

यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँने गरेको प्रधानमन्त्रीले भन्नुभएको छ ।