काठमाडौं - रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी सेनाका लागि काम गरिरहेका भारतीय फिर्ता गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका छन् ।
मस्कोस्थित राष्ट्रपति निवासमा भएको भेटवार्ताको क्रममा रुसले रूसी सेनाका लागि काम गरिरहेका भारतीयको फिर्तालाई सहज बनाउने जनाएको छ । यस घटनाक्रमलाई भारतका लागि महत्वपूर्ण कूटनीतिक जीतको रुपमा हेरिएको छ ।
सामाजिक सञ्जाल एक्सको पोस्टमा मोदीले मङ्गलबार साँझ नोभो–ओगेरियोभोमा स्वागत गरेकोमा राष्ट्रपति पुटिनप्रति कृतज्ञता व्यक्त गर्दै भोलिपल्ट पनि वार्ताको प्रतिक्षामा रहेको र वार्ताले भारत र रुस बिचको मित्रतालाई अझ बलियो बनाउन सहयोग गर्ने जनाएका थिए।
रुसी सेनाका लागि काम गर्ने भारतीयको मुद्दा विपक्षीहरूले उठाएका थिए र कांग्रसले यस विषयमा सरकारको स्थिति माथि प्रश्न उठाएको थियो ।
कांग्रेस राज्यसभा सांसद जयराम रमेशले प्रधानमन्त्रीलाई प्रश्नको श्रृङ्खलामाा मुद्दा उठाउँदै मस्कोस्थित भारतीय दूतावासको तथ्याङ्क अनुसार कम्तीमा ५०जना भारतीय नागरिक रुसी सेनामा सामेल भएको जनाएका थिए । ती मध्ये कम्तिमा दुई जना व्यक्ति युद्धमा मारिएको पुष्टि भइसकेको छ ।
यसै विच दुई नेताबीच युक्रेनको अवस्थाबारे पनि छलफल भएको थियो। सरकारी स्रोतका अनुसार युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा पाउन नसकिने भारतको धारणा छ । यो विश्वव्यापी दृष्टिकोण पनि हो र स्वाभाविक रूपमा संवाद र कूटनीति मार्फत द्वन्द्वको समाधानका लागि दुवै पक्षहरू हुनु आवश्यक छ ।
प्रधानमन्त्री मोदीले मङ्गलबार सैनिकको चिहानमा पुष्पचक्र अर्पण गर्ने तथा रोसाटम मण्डपको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यसअघि सोमबार प्रधानमन्त्री मोदी २२ औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा दुई दिने आधिकारिक भ्रमणका लागि मस्को गएका थिए।
0 comment