काठमाडौं - भारतको उत्तर प्रदेशमा मङ्गलबार एउटा हिन्दू धार्मिक सत्संगमा भागदौड मच्चिँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
    
एक लोकप्रिय प्रचारकको प्रवचनका लागि उत्तर प्रदेशको हाथरस सहर नजिकै ठूलो भीड जम्मा भएको थियो। धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को लडेर र केही मानिसको भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । 

'हामीले अहिलेसम्म ९७ जनाको मृत्यु भएको पुष्टि गरेका छौँ । पीडितहरूका लागि राहत र चिकित्सा सहायता प्रदान गर्न ध्यान केन्द्रित गरिरहेका छौँ', उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वी.ले भने, 'उपस्थित मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भयो र त्यसपछि दुःखद घटना भयो ।'

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए। एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो । 

आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू शवगृहबाहिर भेला भएका थिए ।  उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए । 

'जब प्रवचन सकियो, सबै मानिस बाहिर भाग्न थाले', शकुन्तला मात्र नाम बताउने एक महिलाले प्रेस ट्रस्ट अफ इन्डियालाई भनिन्, 'मानिसहरू सडक किनारको नालीमा खसे, उनीहरू एकमाथि अर्को खस्न थाले र कुल्चिएर मृत्यु भयो ।'

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरेका छन् । 

राष्ट्रपति द्रौपदी मुर्मूले पनि मृत्युलाई ‘हृदयविदारक’ भन्दै ‘गहिरो समवेदना’ व्यक्त गरे‍की छन्।  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका आफन्तजनप्रति ‘समवेदना’ व्यक्त गरेका उनको कार्यालयले बताएको छ । 

भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन् । भारतमा धार्मिक समारोहहरूमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ । 

सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो । विस्फोटबाट कङ्क्रिटका भवनहरू भत्केका थिए र हजारौँ मानिस एकत्रित भएका केरल राज्यको एउटा हिन्दू मन्दिर परिसरमा आगो लागेको थियो । 

सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिर नजिकै पुलमा भागदौड मच्चिँदा एक सय १५ श्रद्धालुको मृत्यु भएको थियो । उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो । 

सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए ।