परिक्षा कोइराला

काठमाडौँ - नेपालमा कम्युनिष्टहरु २००६ पछि मात्र उदित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका  संस्थापक मध्ये एक पुष्पलाल हुन् जो महासचिव थिए । यिनै पुष्पलालको शतवार्षिकी एक कार्यक्रम गरी सम्पन्न भयो । सो अवसरमा विभिन्न वामपन्थी वक्ताहरुले नेता र पार्टी एक हुन आग्रह गरे । 

सो कार्यक्रममा वाम नेता दिनानाथ शर्माले पुष्पलालले २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गरेर योगदान दिएको बताए । वरिष्ट वामनेता नेत्र बिक्रम चन्दले मार्क्सवाद र पुष्पलाललाई समर्थन गरेपछि कम्युनिष्ट पार्टी सहजै एकीकृत हुन सक्ने बताए । नेपालको राजनीतिमा सामन्तवाद र पुजीवाद संघर्षमा पुष्पलाल सधै अगाडि रहेको समेत भनाई राखे । वरिष्ठ वामनेता सी. पी. मैनालीले नेपालको कम्युनिष्ट संस्थापक र वैचारिक नेता पुष्पलाल भएको, हाम्रो क्रान्ति राष्ट्रिय जनवादी रहेको र पुष्पलालले  गरेको कामको समिक्षा हुनुपर्छ भन्ने मन्तव्य राखे ।

वरिष्ट वामनेता सी. पी. गजुरेलले पुष्पलाल माओसेतुंगको विचारधारा स्थापित गर्दै कम्युनिष्ट आन्दोलनलाई अतुलनिय योगदान पुर्याएको छ भने । उनले सामन्ती समाजवाद, बुर्जुवा समाजवाद, पुजीवाद समाजवादमा वैज्ञानिक समाजवाद ल्याएपछि समाजवाद तर्फ पुगिन्छ भन्ने तर्क प्रस्तुत गरे । 

वरिष्ट वामनेता बामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी भारतमा जन्मेको तथ्य राख्दै नेपालमा कम्युनिष्ट बीचमा एकता हुनु पर्ने बताउदै समाजवाद ढल्न हुदैन भने । 

ने. क. पा एमाले उपाध्यक्ष युवराज ज्ञवलीले नेपाली जनताको लागि लोकतन्त्र, जनवाद, जनतन्त्र ल्याउन आवश्यक रहेको र जनवादी व्यवस्था समाजवादको आधारमा तयार गर्नुपर्छ भन्ने बताए । 

पूर्व प्रधानमन्त्री माधव नेपालले पुष्पलालले मार्क्सबाट प्रभावित भएर पार्टी बनाएको र पुजीवादलाई समाजवादमा रुपान्तरण गर्न जनक्रान्तिको आवश्यकता पर्ने बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव रहेको र उनले पहिलो कम्युनिष्ट घोषणा पत्र अनुवाद गरेको, सामन्तवाद विरुद्ध सम्झौता नगर्ने, पार्टी र सिद्धान्तमा अडिग रहने क। पुष्पलालको एतिहासिक योगदान भएको र कम्युनिष्ट एक हुनु पर्नेमा जोड दिए ।  

 लोककृष्ण भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा उद्घोषण गोपीरमण उपाध्यायबाट भएको थियो । सो समारोहमा ने. क. पाबाट पूर्व प्रधानमन्त्री भएका झलनाथ खनाल, डा. बाबुराम भट्टराईको उपस्थिति देखिएन । यस्तै वरिष्ट वामदेव नेता मोहन विक्रम र रोहितको अनुपस्थिति खड्किएको थियो ।