काठमाडौं - प्रहरीले ६ सय १५ किलोग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ। 

कटारी नगरपालिका- ६ उदयपुर घर भइ सिन्धुलीको हरिहरपुरगढी-७ चिसापानी बस्ने ४६ वर्षीय कुमार पाख्रिन ६ सय १५ किलोग्राम गाँजासहित पक्राउ परेका हुन्।

शनिबार साँढे १ बजेतिर इलाका प्रहरी कार्यालय कपिलाकोटलाई प्राप्त विशेष सूचनाका आधारमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी स्थित थोले ब्लोनको गोठमा गई खानतलासी गर्दा ६ सय १५ किलो लागुऔषध गाँजा बोरा तथा फलामको ड्रममा लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

उक्त गाँजा नियन्त्रण गर्न सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटिएको थियो। बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा नापतौल गर्दा बोरासहित ६ क्विन्टल १५ किलो भएको पुष्टि भएको छ। यो सिन्धुली जिल्लामा सम्भवत अहिलेसम्मकै ठूलो परिमाणमा बरामद गरिएको गाँजा हो ।

पछिल्ला वर्षहरूमा जिल्लामा लागुऔषध ओसारपसारको ग्राफ बढ्दै गएको प्रहरीकै तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक काफ्लेका अनुसार पछिल्ला तीन वर्षमा मात्र जिल्लामा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । यसले जिल्ला अबैध गाँजा खेतिको उत्पादन तथा ओसार पसारको ट्रान्जिट प्वइन्ट बन्दै गएको पुष्टि गर्दछ ।

गत आर्थिक वर्ष २०७८/०७९ देखि ०८०/०८१ को हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी १७ विगाह १८ कठ्ठा क्षेत्रफलमा लगाइको अबैध गाँजा खेति प्रहरीले फडानी गरेर नष्ट गरेको छ । 

सिन्धुलीका हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकामा विशेष गरेर अबैध गाँजा खेति गर्ने गरिएको छ । भारतीय व्यवसायीको लगानीमा यी क्षेत्रमा बर्सेनि गाँजा खेति गर्ने र प्रहरीले नष्ट गर्ने कार्य हुँदै आएको छ । प्रहरी प्रमुख काफ्लेका अनुसार सिन्धुलीमा गाँजासहित खैरो हिरोईन, एम्पुल, ट्यावलेट तथा विभिन्न प्रकारका झोल लागुऔषधको समेत ओसार पसार हुने गरेको छ । ‘गत आर्थिक वर्ष २०७८/०७९ देखि ०८०/०८१ को हालसम्मको तथ्यांङ्क अनुसार सिन्धुलीमा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा, १ सय ५२ दशमलव ७२६ मिलिग्राम हिरोईन, ७ सय ५ दशमलव ८५५ ग्राम चरेश, ६ हजार ३ सय ५५ एम्पुल, ७ हजार १ सय ७ वटा ट्यावलेट र १ हजार १ सय १४ बोतल झोल पदार्थ नियन्त्रणमा लिइएको छ,’ उनले भने ।

यो समयमा लागुऔषध ओसार पसार तथा नियन्त्रणका १ सय ७२ घटना घटेका छन् । प्रहरीले २०७८/०७९ देखि ०८०/०८१ सम्ममा १ सय ११ वटा लागुऔषधका मुद्धा दर्ता गरेर अनुशन्धान गरेको छ । उक्त मुद्धामा ५० जनालाई संझाई बुझाई गरेर छाडिए पनि १ सय १ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको तथ्याङ्क छ । 

प्रहरीले तीन वर्षको अवधिमा १ सय ३६ पटक विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै अवैध लागुऔधषको ओसार पसार तथा दुरुपयोगसम्बन्धी सचेतना प्रवाह गरेको थियो । यसपटक पनि लागु औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाइ रहँदा जिल्लामा यति ठूलो परिमाणमा गाँजा नियन्त्रण हुँदा प्रहरीलाई नै चुनौति थपिएको छ । 

सिन्धुलीमा उत्पादन हुने गाँजा तराईका जिल्लाका साथै भारतसम्म ओसारपसार हुने गरेको छ भने खैरोहिरोइन, एम्पुल, ट्यावलेट तथा झोल पदार्थका लागु औषधहरु सिन्धुली हुँदै राजधानी काठमाडौं सप्लाई हुने गरेको छ । 

तराईका जिल्लासँग जोडिएको सिमानामा कडाईका साथ चेकजाँच नहुनु र वीपी, मध्येपहाडी र मदनभण्डारी जस्ता ठूला तीनवटा राजमार्गहरु सिन्धुली जिल्लाअन्तरगत नै पर्ने भएका कारण पनि अवैध लागुऔषध ओसार पसारका घटनाहर बढ्दै गएको देखिन्छ।