परमाणु बमका निर्माता अल्बर्ट आइन्स्टाइन यहुदी थिए । जर्मनबासी आइन्स्टाइन यहुदी भएकै कारण उनले जर्मनबाट अमेरिका पलायन हुनु परेको थियो । दोस्रो विश्वयुद्ध चलिरहेको थियो । जर्मन शासक एडल्फ हिटलर यहुदीहरूका कट्टर दुश्मन थिए । स्वस्तिक चिन्ह बोकेर आर्य जातिको विश्व प्रभुत्व कायम गर्ने दुःस्वप्न हिटलरले देखेका थिए । भाषण कलामा निपुण हिटलर आफू शाकाहारी थिए । तर यिनैले लाखौं यहुदीहरूलाई ग्यास चेम्बरमा हालेर निर्ममतापूर्वक हत्या गरेका थिए । हिटलर प्रजातान्त्रिक विधि निर्वाचनबाटै सत्तामा पुगेका थिए । तर उनी सत्तासीन भएपछि आफ्नो सर्वसत्ताबाट जर्मन नागरिकहरूमाथि लादे । साम्राज्य विस्तार गर्ने हिटलरको महत्वकांक्षाले दोस्रो विश्वयुद्धको श्रीगणेश गरेको थियो । युद्ध चलिरहँदा कसले जित्ने हो वा कसले हार्ने हो अनुमान लगाउन कठिन थियो । त्यतिबेलै आइन्स्टाइनले भविष्यवाणी गरे– जोसँग परमाणु हुने छ उसैले युद्ध जित्नेछ । त्यसबेलासम्म आइन्टाइनबाट अमेरिकाले परमाणु बम हात पारिसकेको थियो । अमेरिकी राष्ट्रपति ट्रुमेन जापानसँग त्रसित थिए । तर जापान युद्धले थिलथिलो भइसकेको थियो। हार नजिक पुगेको जापानमाथि अमेरिकाले परमाणु बम प्रहार गर्ने योजना बनायो । 

जापानले अनुमान समेत लगाउन सकेको थिएन कि आफूमाथि महाविपत्ति आइलाग्दैछ । जापानलाई हराउन हेतु अमेरिकाले जापानमाथि परमाणु बम प्रहार ग¥यो । यस घटनाले आइन्स्टाइन दुःखी बने र अगस्ट ६ लाई ब्लाक डे भनिदिए । परमाणु बमको धमकासँगै दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो । परमाणु बम पड्किएको देख्नेहरूको त्यसबेलाको बयान यस्तो थियो– ‘मैले आफ्नै आँखाअगाडि दशहजार फिट अग्लो आगोको मुस्लो देखेँ । जुन धरतीबाट उडेर आकाशतर्फ बेसुरसँग दौडिरहेको उल्का जस्तै देखिन्थ्यो । हेर्दाहेर्दै त्यो आगोको मुस्लो ठूलो च्याउजस्तै हुँदै ४५ हजार फिटको उचाइसम्म पुग्यो । आकाशमा अब आगोको ज्वालाबाट बनेको विशाल च्याउजस्तै शिखरहरू थिए । त्यसबाट आगोका लप्काहरू ख्सिरहेका थिए ।’ – अमेरिकी पत्रकार विलियम लरन्स (प्रत्यक्षदर्शी) । ‘ड्वाङ आवाज आएपछि मैले जमिनमा जतासुकै पहेंलो र निलो प्रकाश फैलिएको देखेँ । हस्पिटलतिर हेरेको त हस्पिटलका भवनहरू ड्याम ड्याम जमिनमा लडिरहेको देखेँ । चारैतिरबाट ठूलठूला आवाज आउन थाले । आगोको रापले मेरो शरीर पनि जल्न थाल्यो र भुइामा लडीबुडी गरेर आगो निभाएँ तर ढाडको छाला खुइलिसकेको थियो । सहरमा पूरै हाहाकार मच्चिरहेको थियो । हस्पिटलका जवान, डाक्टर र नर्स सबै मुर्छा भइसकेका थिएँ ।’ इयची साकागासी (आर्मी हस्पिटल, हिरोसिमा) । ‘प्यारासुट विस्तारै तल झरिरहेको थियो । एकैछिनमा आँखा नै तिर्मिराउने खालको बिजुली चम्कियो । म भुइँमा पछारिएँ । आकाशमा अन्धकार बादल छायो । धेरै ठूलो आवाजले घरका सम्पूर्ण झ्यालढोकाहरू चकनाचुर भए । बाहिर कालो वर्षा हुन थाल्यो । पछि यो थाहा पाएँ प्यारासुट त विनाशकारी बम पो रहेछ ।’ इजुमी इजुहिरी (बम आक्रमणबाट बाँचेकी जापानी महिला) । 

उषाकालीन समय, जापानको सुन्दर सहर हिरोसिमाको आकाश पूरै सफा थियो । बादलका टाटाहरू पनि देखिँदैनथे । सूर्यको किरणसँगै चराहरूको चिर्बिराहटले वातावरण मनमोहक थियो । निद्रादेवीको प्यारो काखबाट भर्खर ब्युँझिएका मानिसहरू उज्यालो दिनसँगै नित्य कर्ममा जुटिरहेका थिए । सधैंझैँ आज पनि हरेक मान्छे आआफ्नो दिनचर्याको प्रस्थानबिन्दुतर्फ लम्किरहेका थिए । कसले सोचेको थियो र एकैछिनमा हिरोसिमा आगोका लप्काहरूसँगै खण्डहरमा परिणत हुँदैछ भनेर । बमको धूवाँमा निसासिएर आगोको लप्काले भतभती पोलेर पानी पानी भन्दै मान्छेहरू छटपटाउने छन्, यस्तो कहालिलाग्दो दृश्यको कल्पना कसले गरेको थियो र ? घटना अशोचनीय र अकल्पनीय थियो । 

सन् १९४५ अगस्त तारिख बिहान ७.० ९ बजे साइरन बनाउँदै ‘बी २९’ नामक अमेरिकी बम वर्षक विमान एक्कासि हिरोसिमाको आकाशमा देखियो । सो विमानले कुनै पनि बेला हिरोसिमामा बम बर्षाउन सक्ने समाचार रेडियोले प्रसारण गर्दै हिरोसिमाबासीलाई सतर्क गरायो । उक्त विमानले एक चक्कर लगायो आकाशमा र पुनः फर्कियो । हिरोसीमाबासीले रेडियोको समाचारको पनि त्यत्ति विश्वास गरेनन् । केही समयपछि चुकेगु जिल्लाको मुख्य सैनिक इलाकाबाट अब हिरोसीमा खतरामुक्त भएको छ सबैजना आआफ्नो काममा लागे हुन्छ भन्ने सूचना प्रवाहित गरियो । हिरोसिमाका बासिन्दा सन्त्रासमुक्त मुद्रामा हर्षित हुँदै आआफ्ना धन्दामा जुटे । विद्यार्थीहरू विद्यालयतर्फ कृषकहरू खेततर्फ मजदुरहरू कारखानातर्फ र कर्मचारीहरू कार्यालयतर्फ लागे । नातेदारहरू आफन्तसँग भेटघाटमा लागे । 

सडकमा रेलगाडी, मोटरगाडी, स्कुटर र साइकलहरू दौडिन लागे । सबै मान्छेहरू पूर्ववत काममा व्यस्त भए । रेडियोले खतरामुक्तको सूचना प्रसारण गरेको एक घन्टा मात्र के बितेको थियो अर्थात् ८.१५ बजे अचानक निलो र सफा गगनमा तीनवटा विमान विचलन हुन थाले । तीन विमानमध्ये एनोला गे नामको विमानबाट एउटा प्यारासुट झरेको दृश्य देखियो । उक्त प्यारासुटमा विभिन्न रंगले सजिएको एउटा गोलो वस्तु झुन्डिरहेको थियो । नानीहरू प्यारासुटतिर हेरेर रमाउन थाले । प्रायशः मानिसको नजर त्यही प्यारासुटतिरै केन्द्रित थियो । स्कुलेहरूले प्यारासुट प्यारासुट भनेर कराएको आवाज सुनेर सहरबासीहरू पनि घरको झ्याल खोलेर यो विल्कुलै नवीनतम दृश्यको अवलोकन गर्न थाले । हेल्लो शत्रुका तीनवटा ठूला विमान अहिले सेजो नगरको पश्चिम आकाशमा उडिरहेका छन् । तिनीहरू हिरोसिमातिर बढिरहेकाले पूर्व सावधान हुनु । सैनिक इलाकाबाट रेडियो स्टेशनमा तुरुन्त फोन आयो । यो खबर रेडियोबाट लगत्तै प्रसारण पनि गरियो । प्रसारण पूरा हुन नपाउँदै आकाशबाट ड्वाङ भयानक आवाज आयो । रेडियो एक्कासी बन्द भयो । मानिसहरूले के भयो भनेर अनुमान पनि गर्न सकेनन् । 

रेडियो स्टेसन विमानबाट प्यारासुटमा खसालिएको गोले रंगीचंगी डल्लो अर्थात् लिटर ब्वाय नामको एटम बमले क्षतविक्षत भइसकेको थियो । ५ सय ८० मिटर माथि नै उक्त बम बेजोडले पड्किएर त्यहाँबाट आगोको ज्वाला निस्कियो । सुन्दर हिरोसिमा नगरलाई एकैछिनमा भष्म बनाइदियो । २८ सेकेन्डसम्म त पूरै सहर आगोमय र रातै भएको देखियो । चारैतिर यति तातो फैलियो कि मानौं आकाशबाट हिरोसिमा प्रज्ज्वलित सूर्य नै खस्यो । त्यतिखेर त्यहाँको तापक्रम ५ हजारदेखि ६ हजार डिग्री सेल्सियससम्म पुग्यो । १ मिनेटमै १४ वर्गकिलोमिटर क्षेत्र जलेर ध्वस्त भयो । सहरका ठूला भवनहरू, कलकारखानाहरू र ऐतिहासिक स्मारकहरू हेर्दाहेर्दै खरानी भए । बाटोमा हिँडिरहेका मोटरगाडी, रेलगाडी र मानिसहरूलाई आगोको ज्वालाले हुत्याएर टाढाटाढासम्म छरियो । असह्यनीय तातोले मान्छेहरू, पशुपक्षी र अन्य वस्तुहरू धूवाँ बाफ र खरानीमा परिणत भए । सो बमबाट तत्कालै एक लाख नागरिकको मृत्यु भएको थियो । साथै उक्त बमको असरका कारण सो वर्षको डिसेम्बर महिनासम्ममा १ लाख ४४ हजार नागरिकको ज्यान गएको थियो । तर अधिकारीहरूले उक्त समयमा हजारौं नागरिक हराएकाले त्योभन्दा बढीको मृत्यु भएको अनुमान गरेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यतिर भएको सो घटनाको तीन दिनपछि पुनः अर्थात् अगस्ट ९ तारिखमा जापानको अर्को सहर नागासाकीमा पनि अमेरिकाले नै बम खसालेको थियो । उक्त बम हमलामा परी ७० हजार नागरिकको ज्यान गएको थियो । 

दोस्रो विश्वयुद्धमा जापान र अमेरिका दुई प्रतिद्वन्द्वी राष्ट्र थिए । सन् १९४१ देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध भएको थियो । यी दुई हमलापछि जापानले अमेरिकासँग आत्मसमर्पण गरेको थियो । त्यसलगत्तै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । यो आक्रमणसँगै अमेरिका विश्वको ठूलो शक्तिको रुपमा उदाएको हो । सबै डढेर काला ठुटाझैँ देखिए । 

‘आगोले पोल्यो बचाऊ बचाऊ’ पानी पानी, म पानी पिउँछु’ भन्दै मानिसहरू चिच्याएर यत्रतत्र दौडिन थाले । पोलेको शरीरलाई चिस्याउन भौतारिँदै खोलामा डुबेका मानिसहरू धेरैजसोलाई खोलाले नै बगायो, खोलाको पानी पनि अत्यधिक तातेर भकभक उम्लिरहेको थियो । डढेका वस्तु, रक्ताम्मे लासहरू नदीमा बग्न थाले । खोला, पोखरीका माछा गोहीहरू पानीबाट उफ्रिन खोज्दै किनारमा पछारिएर भटाभट मर्न थाले । मान्छेहरू विरुप देखिए । कसैको हात चुँडिए त कसैको गर्धन । शरीरका विभिन्न अंगहरू उछिट्टिएर टाढाटाढासम्म पुगेका थिए । पग्लिएको सिसा र अन्य धातुमा मान्छेका अंगहरू टाँसिएका थिए । 

केही समयमै बाक्लो बादल र धूवाँले सूर्यलाई ढपक्कै ढाकिदियो । सर्वत्र दिउँसै अन्धकार छायो । हावाको भूमरी उठ्यो अनि मुसलधारे रेडियोधर्मी वर्षा सुरु भयो । कालो हिलोझैँ बर्सिएको अत्यन्त चिसोपानी यो पानीमा पर्नेहरू सबै काला बन्न पुगे । विकिरणका कारण उनीहरू तालुखुइले भए । जजसले बम खसेको दृश्य हेरे उनीहरू सबै अन्धा भए । तत्कालै मर्नेहरू त दुःखबाट बरु पार पाए । बम खसेको केन्द्रबाट १२ देखि १४ किलोमिटर टाढा बस्नेहरू अणुबमको विकिरणबाट जोगिन सकेनन् । उनीहरूमध्ये कतिको शरीरको बाहिरी भाग कालो भएर डढ्न पुग्यो । कत्तिको शरीरको छाला प्याजको बोक्राजस्तै उप्कियो । ज्यादा तातोका कारण मानिसले लगाएका लुगाको छाप नै शरीरमा बस्यो । कसैको लुगा शरीरमै जल्न थाले । 

रेडियो विकिरणले कयौंको यौनांग डढेर नष्ट हुँदा र कपाल समेत एउटै नरही झर्नाले आईमाई हो कि स्वास्नीमान्छे छुट्याउन गाह्रो भयो । केही दिनपछि रेडियोधर्मिताको सिकार भएका हिरोसिमाका बासिन्दालाई क्यान्सरको लक्षण देखा पर्न थाल्यो । हिरोसिमा सहरदेखि ६० ।६२ किमिसम्म रहेका अन्य नगरबासीले पनि एटमबम पड्किएको आवाज सुनेर जबर्जस्त धक्काको महसुस गरेका थिए । सिसाका टुक्रा र धारिला वस्तुहरू उछिट्टिएर मानिसहरू घाइते बने । बम विस्फोट भएको २० मिनेट पछाडि कालोबादलको मुस्लोले आकाश ढाक्यो र बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म लगातार कालो वर्षा भइरह्यो । 

हिरोसिमाको उत्तरको कावे क्षेत्र र पश्चिमको कोइ र तकासु क्षेत्रमा घनघोर वर्षा भयो । वर्षाको मात्रा दुई घण्टाभित्र ५० देखि १०० मिलिमिटरसम्म रह्यो । सल्किइरहेको आगो यो पानीले केही मत्थर त भयो हिलो र अलकत्रा जस्तो पानीको असर अझ भयानक बन्यो । बम विस्फोटबाट बाँचेकी मिचिकी यातातावे त्यस बेलाको क्षण सम्झिँदै भन्छिन्– घाइतेहरू समेत कमजोर भएका थिए कि, उनीहरूमा आफ्नो शरीरमा लागेका काला झिँगा समेत धपाउने शक्ति थिएन । बम वर्षापछि हिरोसिमामा ठूलाखाले काला झिँगाहरू असाध्य उत्पत्ति भए र छाला उप्किएका बिरामीको शरीरमा भन्किन थाले । कति मान्छेहरू बम पड्किएपछि हिजियामा पार्कमा भागेर ज्यान बचाउन सफल पनि भएका थिए । 

युजिना बन्दरगाहमा घाइतेहरूको भीड बढेको देखिन्थ्यो । आधा शरीर डढेका मानिसहरू आकी, असार, सेकी जस्ता बस्तीहरूमा गएका थिए । यो संख्या झन्डै ५० हजारभन्दा बढी थियो । रेडक्रस, हस्पिटल, आर्मिहस्पिटल, मित्सुविसी हस्पिटल जस्ता उपचार केन्द्रहरूमा पचासौं हजार घाइतेहरू थुप्रिन थाले । सहरका १ सय ६५ डाक्टरमध्ये ७० जना बम विस्फोटमा परेका थिए भने बाँकी शरीर डढेर काम नै गर्न नसक्ने भए । नर्सहरूको अवस्था पनि त्यस्तै थियो । धेरैजसो घाइतेहरू उपचारबिना नै त्यसै मर्न पुगे । ७७ हजार घरहरू भएको हिरोसिमा सहरमा मुश्किलले ६ हजार घरमात्र जोगिएका थिए ।