अन्तरजातिय प्रेम विवाह गर्नेहरुलाई प्रोत्साहन भत्ता दिने र समाजमै सम्मानका साथ जिउने वातावरण बनाउने प्रतिवद्धताहरुको चाङ नै लागेको छ । तर अन्तरजातिय प्रेम विवाह गर्ने जोडीहरु कि समाजबाट विस्तापित नै भएका छन कि आत्महत्या नै गर्ने अवस्थामा पुगेका छन । दलित र गैरदलितबीच हुने प्रेमविवाहलाई समाजले के भन्छ, आफ्ना आफन्तले के भन्छन गाउ समाजले मानिल्याएको कुरालाई कसरी तोडने, यही समाजमा बस्नुपर्छ समाजले प्रश्न गर्दा के उत्तर दिने जस्ता मनोकल्पित भ्रमहरुले अन्तरजातिय प्रेमको मुनालाई निमोठिरहेको छ । अन्तरजातिय प्रेमकै कारण मृत्यवरण गरेका आजित मिजार नवराज विकहरुको घटनाले अझै मन तर्सिन्छ । भोजपुरका संगम ठटाल परियारले अन्तरजातिय प्रेमकै कारण रुखमा पासो लगाए । सर्लाही विष्णु गाउपालिकाका यादव थरका युवकले गाउकै १७ वर्षीय दलित किशोरीलाई दलित भएकै कारण विवाह नगरी विचल्ली बनाए । सिरहा कल्याणपुर ३ का मण्डल थर गरेका युवकले दलित किशोरीलाई घरमा लगे तर दलित भएकैकारण परिवारले नस्वीकार्दा दलित किशोरीको विचल्ली भयो । रुपन्देहीकी अंिगरा पासी अन्तरजातिय प्रेमकै कारण भगवानको घरमा पुगिन । सप्तरीकी ज्योती पासवानले अन्तरजातिय प्रेम असफल भएर नै आफूलाई सदाका लागि विलिन गराइन । झापा कचनाकवलमा २५ वर्षीय राजेशकुमार गणेश (गनगाई) र १८ वार्षीय पवित्रा राजवंशी एउटै रुखमा झुन्डीएर पासो लगाए कारण थियो अन्तरजातिय पे्रम । यी त भए सञ्चार जगतमा आएका घटनाहरु । 

सामाजिक लान्छानाबाट जोगिन र जोगाउन भन्दै अन्तरजातिय प्रेमका घटनाहरुलाई भित्रभित्रै सामसुम पार्ने अभ्यासहरु फैलदो अवस्थामा छन । अन्तरजातिय प्रेम गर्ने जोडिहरुको घटना बाहिर नल्याउनका लागि स्थानीय बुद्धीजिवी, राजनैतिक दलका अगुवाहरु, स्थानीय जनप्रतिनिधिहरु लगायतका व्यक्तीहरुको नै सक्रियता रहनेगरेका थुप्रै नजिरहरु छरपष्ट छन । जसले न्याय दिलाउनका लागि आफ्नो पक्षमा बोलिदिन्छ भनेर घटना सुनायो उसैले घटनाबाहिर नल्याउन दवाव दिने गरेका कुरा पनि पिडितहरुबाट बाहिर आइरहेकै छन । 

अन्तरजातिय प्रेमका घटनाहरुलाई समाजमै मिलाउन दवाव दिनेहरुको भिड नहटुन्जेल अन्तरजातिय प्रेमजोडीहरुले न्याय पाउने अकासको फलसरह हुने पक्का नै छ । दलित भएकै कारण हेलाहोचो गर्न नपाइने व्यवस्था नीतिमा परिपक्व छ । प्रेम गरेर जातकै कारण छोडन समाजबाट तिरस्कार गर्न नपाइने नीतिगत व्यवस्था कहिलै सामाजिक अभ्यास बन्न सकेन र बनाउने हिम्मत पनि कसैले गरेका छैनन । विशेषगरी गैरदलित किशोर र दलित किशोरी प्रेममा परेर अन्तरजातिय विवाह गरेभने सबैभन्दा धेरै पीडामा दलित किशोरीलाई पारिन्छ । यसता घटनाहरुमा सामाजिक प्रतिष्ठाको खाष्टो ओडेर अन्तरजातिय प्रेममा रहेका जोडीलाई सामाजिक वहिस्करण गरी समुदायबाट नै विस्थापित गर्ने अभियानमा लाग्नेहरु गैरदलित समुदाय नै हुन्छन । सामाजिक रुपमा बेज्जत हुन्छ भन्ने भ्रम नै गैरदलितले पालेर बसेका हुन्छन । दलित आयोगको प्रतिवेदनले भन्छ अन्तरजातिय प्रेम तथा विवाहका कारण हत्या हुने १६ छ । समता फाउन्डेसनको दलित मानव अधिकार पुस्तक २०७८ का अनुसार अन्तरजातिय प्रेमका १३ प्रतिशत घटना घटेको देखिन्छ ।

हिन्दु आदर्शको लेपन लगाएर मानसपटलमा उत्पन्न अदृष्य सामाजिक त्रासको नजानिदो अभ्यासले अन्तरजातिय प्रेम नस्वीकार्ने अवस्था जबरजस्त सिर्जना हुनु प्रगतिशिल समाजका लागि निकै दुखद विषय हो 


अन्तरजातिय प्रेम गर्ने जोडीहरुलाई प्रोत्साहन स्वरुप दिने भनिएको रु १ लाख रकम अभियानले पनि अन्तरजातिय प्रेमलाई समाजमा स्थापित भएर ससम्मान जिउने वातावरण तयार हुन सकेन । अन्तरजातिय प्रेम गर्ने रकम पाएपछि छोडीदिने कयौ घटनाहरु देखिए । समाजले लखेटछ भन्ने त्रासका कारण नै अन्तरजातिय प्रेम गर्ने किशोरकिशोरीहरुले आफ्नो सम्बन्ध बाहिर ल्याउन नै चाहदैनन । करिब २० वर्ष पछि व्युतिएको स्थानीय तहको निर्वाचन पश्चात जनताको घरघरमा सरकार छ भनिन्छ । अन्तरजातिय प्रेमप्रति कठोर बन्दै गरेको समाजलाई रुपान्तरण गर्न स्थानीय तहले भुमिका खेल्छ भन्ने आस थियो । तर त्यसो हुन सकिरहेको छैन । अन्तरजातिय प्रेमलाई दवाउनका लागि स्थानीय आफै लागेका दृष्यहरु पनि नदेखिएका होइनन । हामीले आधुनिक भनेको समाजले अन्तरजातिय प्रेमलाई स्वीकार नगर्नु कस्तो समाजिक समृद्धिको परिकल्पनामा छौ हामी । दलित र गैरदलितविचको प्रेमलाई सामाजिक वहिस्करण गर्ने हामी कुन समानताको सपना देख्दैछौ ? अन्तरजातिय प्रेमलाई स्वीकार गर्दा सामाजिक प्रश्नको मनोकल्पित भ्रमले त्रसित हुन्छौ भने भोलीको पुस्तालाई कस्तो समाजको इतिहास देखाउदैछौ ?

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन,२०६८ तथा जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) नियमवाली, २०७४ प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव नहुने व्यवस्था गरेको छ । प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछूत, बहिष्कार, प्रतिबन्ध, निष्काशन, अवहेलना वा त्यस्तै अन्य मानवता विरोधी भेदभाव जन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था गरी सर्व साधारण जनताबीच सुसम्बन्ध कायम गर्ने कुरा उल्लेख गरेकोछ । नीति ऐनले सामाजिक वहिष्करणलाई पूरै निषेध गरेको अवस्था छ । जातका आधारमा धर्मका आधार रङगका आधारमा विचारका आधारमा कसैलाई पनि समाजबाट बहिष्कार गर्ने छुट नीति ऐनले दिएको छैन । दलितका सवालमा नीतिगत व्यवस्थाहरुलाई समाजले व्यवहार अभ्यास कहिलै बनाएन र बनाउने जमर्को पनि गरेन । दलित र गैर दलितबीच हुने विवाहलाई समान्यरुपमा ग्रहण गरी समाजमा उनीहरुको जिजिविसाको रक्षक बन्छौ भन्नेहरु नै सामाजिक इज्जत र प्रतिष्ठाको खोल ओडेर अन्तरजातिय विवाहलाई निषेध गर्ने अभियानमा निरन्तर छन । समाजले व्यक्ती बनाएको हैन व्यक्तीले समाज बनाएको हो ।