काठमाडौं - मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)माथि राजा र हिन्दु राष्ट्रको एजेन्डालाई चुनावी मुद्दा बनाएर राजनीतिक लाभ लिने तर त्यसअनुसार काम नगर्ने आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा नयाँ राजनीतिक दल गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले राप्रपाले चुनावका बेला राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा उठाएर मत माग्ने गरे पनि सत्तामा पुगेपछि ती एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको टिप्पणी गरे।

उनले राप्रपा विकास र जनताप्रति उत्तरदायी बन्नुभन्दा सांसद बन्ने, सत्ता प्राप्त गर्ने र सुविधा तथा भत्तामा केन्द्रित भएको आरोप लगाए। सत्य बोल्नेलाई अराजकको संज्ञा दिने प्रवृत्ति बढेको उल्लेख गर्दै प्रसाईंले आफू देश र जनताको हितका लागि सत्य बोल्न नडराउने र त्यसका लागि जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको बताए।

प्रसाईंले वर्तमान राजनीतिक व्यवस्थाले गरिब नागरिकमाथि अन्याय गरेको दाबी गर्दै सहकारी पीडितहरूले न्याय नपाएको, किसानहरूले दूधको उचित भुक्तानी नपाएको तथा आम नागरिकका समस्या समाधान हुन नसकेको बताए। उनले वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरू लामो समय टिक्न नसक्ने दाबी पनि गरे।

पत्रकार सम्मेलनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रधानमन्त्रीसँग सम्बन्धित विषयमा केही दाबी गर्दै त्यसबारे आफूले प्रमाण सार्वजनिक गर्ने बताए।

प्रसाईंले नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याउँदै आफूहरू वैकल्पिक राजनीतिक अभियानलाई संगठित रूपमा अघि बढाउने तयारीमा रहेको जानकारी दिए।