काठमाडौं - नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा आयोजना गरेको कोसी प्रदेशस्तरीय भेलामा पार्टीको वर्तमान नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। भेलामा सहभागी नेताहरूले पार्टीभित्र एकलौटी निर्णय, निषेधको राजनीति, सदस्यता व्यवस्थापनमा पक्षपात तथा संगठन कमजोर बन्दै गएको विषयमा नेतृत्वको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

नेता रामहरि खतिवडाले संस्थापन पक्षका नाममा पार्टीभित्र एकलौटी र निषेधको राजनीति गरिए त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए।

नेताहरू मीन विश्वकर्मा र एनपी साउदले पछिल्लो समय संसद्को गतिरोध, राष्ट्रियतामाथि देखिएका चुनौती तथा राजनीतिक समीकरणमा आएको फेरबदलका कारण कांग्रेस रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे। उनीहरूले विशेष महाधिवेशनपछिका केही निर्णय तथा जेनजी पुस्ताको राजनीतिक प्रभावका कारण पार्टीको पुरानो साख कमजोर बन्दै गएको उल्लेख गर्दै संगठनलाई पुनर्जीवित गर्न सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।

भेलामा बोल्दै मोहन बस्नेतले वर्तमान नेतृत्वकै कमजोरीका कारण कांग्रेस इतिहासकै कमजोर मोडमा पुगेको आरोप लगाए। यद्यपि डा. मीनेन्द्र रिजालले केवल उत्तेजनाले समस्या समाधान नहुने भन्दै ८० वर्ष लामो गौरवशाली इतिहास बोकेको पार्टीलाई जोगाउन आगामी महाधिवेशनसम्म एकताको सन्देश लिएर जानुपर्ने आवश्यकता औँल्याए।

त्यस्तै गोविन्द शाहले नेतृत्व नसच्चिए आन्दोलन वडा तहसम्म विस्तार गर्ने चेतावनी दिँदै एक महिनाको अल्टिमेटम दिए।

पूर्व सांसद सरिता प्रसाईँले पार्टीभित्रको असन्तुष्टिलाई सकारात्मक रूपमा लिनुको सट्टा नेतृत्व तहबाटै धम्की आउने र भेलाहरू रोक्न खोज्ने प्रयास हुनु दुःखद भएको बताइन्। उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मा प्रति संकेत गर्दै विद्यार्थी राजनीतिदेखि सहकार्य गरेका नेताहरू नेतृत्वमा पुगेपछि कार्यकर्ताको भावना बुझ्न नसकेको गुनासो गरिन्।

उनले कांग्रेस कमजोर हुँदा संविधान, लोकतान्त्रिक व्यवस्था र राष्ट्रियतामै असर पर्ने भन्दै कार्यकर्तालाई निराश बनाएर आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा सफलता हासिल गर्न कठिन हुने चेतावनी दिइन्।

भेलाका सहभागीहरूले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणका नाममा आफ्ना पक्षधरलाई भित्र्याउने र पुराना कार्यकर्तालाई पाखा लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेका छन्। उनीहरूले पार्टीमा रगत–पसिना बगाएका निष्ठावान् कार्यकर्तालाई निष्क्रिय बनाउने वा सदस्यता खारेज गर्ने प्रयास भइरहेको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरे।

निरंकुश राणा र राजतन्त्रकालमा समेत सिद्धान्तनिष्ठ कार्यकर्ताको जग हल्लाउन नसकिएको स्मरण गराउँदै अहिलेको नेतृत्वमा त्यस्तो प्रवृत्ति देखिएको उनीहरूको आरोप थियो।

भेलामा डा. शेखर कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला लगायतका नेताहरूको सहभागिता रहेको थियो। उनीहरूले पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण, कार्यकर्ताको भूमिका तथा आगामी महाधिवेशनको तयारीबारे धारणा राखेका थिए।