काठमाडौं – नाइजेरियामा डुङ्गा दुर्घटनाहुँदा ४० जना बेपत्ता भएका छन् । 

नाइजेरियाको उत्तरी राज्य केबीको एक स्थानीय नदीमा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् ।

केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुङ्गा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा उक्त डुङ्गाले मुसलधारे बर्षाको सामना गर्नुपरेको उनले बताएका छन् । 

नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख सालिहु गरबाले राज्यको राजधानी मिन्नामा पत्रकारहरूलाई स्थानीय अधिकारी र आपतकालीन सेवाहरूले हराइरहेका यात्रुहरूको खोजी र उद्धार सेवा सुरु गरेको बताएका छन् । स्थानीय गोताखोरलाई डुङ्गामा सवार बेपत्ता यात्रुको खोजी तथा उद्धारका लागि परिचालन गरिएको गरबाले जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकमा डुङ्गामा रहने अत्यधिक भार र खराब मौसम कारण डुङ्गा दुर्घटना हुने गरेको छ ।