हरि चौधरी,

हामीलाई थाहा नै छ पृथ्वी आफ्नो अक्षमा घुमिरहेको छ र यसले निरन्तर रुपमा सूर्यको परिक्रमा गर्दछ । यसबाट पृथ्वी गतिशील छ भन्ने स्पष्ट हुन्छ । पृथ्वी ठूला–ठूला चिराहरुमा बाँडिएको छ जसलाई मेगाप्लेट भनिन्छ । यस्ता प्लेटहरु कुनै महादेशीय छन् भने कुनै महासागरीय । जसरी पृथ्वी गतिशील छ त्यसरी नै पृथ्वीका यी प्लेटहरु पनि गतिशील अवस्थामा छन् । अर्थात् निरन्तर चिप्लिरहेका छन् । यसरी चिप्लदा कुनै बेला यी प्लेटहरु एक आपसमा ठोक्किन पुग्दछन भने कुनै ठाउँमा छुट्टिन पुग्दछन् । यसरी ठूला ठूला प्लेटहरु मन्द गतिमा ठोक्किदै जाँदा कमजोर र हलुका ढुङ्गा भएको प्लेट बाँङ्गिन पुग्दछ । यसलाई वैज्ञानिक भाषामा फोल्ड भनिन्छ र यसरी प्लेटहरु बाँङ्गिदा नै पहाडहरु बन्दछन् । जुन ठाउँमा प्लेटहरु छुट्टिन्छन् त्यो छुट्टिएको ठाउँमा समुद्र बन्दछ । हाम्रो हिमालयको उत्पत्ति पनि यसरी नै भएको हो । 

आजभन्दा झण्डै ६ करोड ५० लाख वर्ष पहिले हिमालय भएको क्षेत्रमा टेथिस नाम गरेको महासागर थियो । दक्षिणबाट भारतीय भूभाग रहेको प्लेट उत्तरतिर बढ्दै आयो र तिबेतियन भूभाग रहेको प्लेटसँग ठोक्किन पुग्यो । फलस्वरुप टेथिस महासागर विलय भयो र ठोक्किने क्रममा भारतीय प्लेट बाँङ्गिएर हिमालय बन्यो । यो क्रम निरन्तर जारी छ । यसबाट के स्पष्ट हुन्छ भने अहिले पनि हिमालयको उचाइ क्रमशः बढिरहेको छ । वैज्ञानिकहरुले यसरी बाङ्गिने क्रममा चट्टानहरु फुट्ने भएकाले भविष्यमा ठूला ठूला भूकम्प जाने अनुमान समेत गरेका छन् । 

उचाइको हिसाबले पहाडहरु साना हुन सक्छन् । तर प्लेटहरु ठोक्किदा उचाइ बढिरहन सक्दछ । उदाहरणका लागि चुरे पहाडलाई लिन सकिन्छ । कुनै बेला चुरे पहाड समतल भूभागको रुपमा थियो । अहिले देखिएको तराई पनि कुनै बेला यसै प्रक्रियाका कारण उठेर आजको चुरे जस्तै बन्न सक्छ भन्ने तथ्यलाई भूगर्भ विद्हरुले प्रमाणित गरिसकेका छन् ।