काठमाडौं - चन्द्रमामा अनुसन्धानका लागि भारतले हालै पठाएको चन्द्रयान–३ सम्पर्कविहीन भएको छ।
गत अगस्टमा चन्द्रमाको दक्षिणी धु्रव नजिकै अवतरण भएको चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू संकलन गरेर १० दिन बिताएका थिए। यो महिनाको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुने गरी सूर्यास्त हुन लाग्दा सौर्य उर्जाबाट चार्ज हुने ब्याट्री रहेको ती रोभर र ल्यान्डरलाई निष्क्रिय राखेका थिए।
चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ। यसको मतलब चन्द्रमामा १४ दिनको एक दिन र १४ दिनको एक रात हुन्छ।
इसरोले २२ सेप्टेम्बरमा चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा तिनीहरू बिउँझिने आशा गरेको थियो। चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरू रिचार्ज हुने र ती रोभर र ल्यान्डर पुनः जागृत हुनेछन् भन्ने ठानिएको थियो। तर, नयाँ चन्द्रदिन सुरु हुनेबित्तिकै ती ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास असफल भएको हो।
चन्द्ररातको अत्यधिक चिसोले ती रोभर र ल्यान्डरका ब्याट्रीहरूमा क्षति पुगेको हुनसक्ने इसरोको अनुमान छ । यद्धपी, ती रोभर र ल्यान्डरसँग सम्पर्क स्थापना गर्ने इसरोको प्रयास जारी छ।
चन्द्रयान–३ अभियानसँगै चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास बनाएको छ।
0 comment