काठमाडौं – संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा दुई विमान एक आपसमा ठोक्किँदा दुई जना विमान चालकको ज्यान गएको छ । उक्त दुर्घटना “टी सिक्स गोल्ड रेस” का क्रममा विमान अवतरण गर्दा विमान एक आपसमा ठोक्किदा उनीहरूको ज्यान गएको आयोजकहरूले बताएका छन् ।
यसरी ज्यान गुमाउनेमा रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङ रहेको रेसिङ रेनो एयर एसोसिएसनले एक विज्ञप्ति निकालेर जानकारी दिएको छ । उक्त प्रेश विज्ञप्तिमा भनिएको छ, निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको हो, दुवै जना दक्ष पाइलट थिए । सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाख भन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ ।
विगत पाँच दशकदेखि हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसरी पाइलटको मृत्यु भएको यो पहिलो दुर्घटना भने होइन । गत वर्ष पनि यस्तै जेट विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । सन् २०११ मा दर्शकहरूको भीडमा विमान खस्दा ११ जनाको मृत्यु भएको थियो भने अन्य ६० जना घाइते भएका थिए ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले यस दुर्घटना किन र कसरी भयो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
0 comment