काठमाडौं – मधेस प्रदेश सभा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, मधेस प्रदेशसभा सदस्यमा सप्तरीबाट निर्वाचित बोदे बरसाइन नगरपालिका–५ का अनिरुद्धकुमार सिंह यादव रहेको प्रहरीले जानकारी दिएको छ । यादव जसपा नेता एवम् पूर्व मन्त्री मृगेन्द्र सिंह यादवका भाइ हुन् । पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतमा सोमबार नै पेश गरिएको छ ।

नेकपा माओवादीका नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६८ चैत १९ गते मुल्तबीमा राखिएको मुद्दामा यादवसमेत ९ जना आरोपी रहेका छन् । प्रहरीले पटक पटक पक्राउ नपरेको प्रतिवेदन दिएपछि मुल्तबीमा राखिएको कर्तव्य ज्यान मुद्दाका फरार आरोपी प्रदेशसभा सदस्य यादवलाई राजविराजबाट प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिएको छ । 

सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाका ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको २०६४ असार ९ गते बोदे बरसाइन नगरपालिका २ नेङ्गडा बैरिया टोलमा अपहरण पश्चात गोली हानी हत्या गरिएको थियो । चौधरीको २०६४ असार १० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम भएको थियो । मृतकका दिदी बोदे बरसाइन नगरपालिका १ धनगढीकी ३६ वर्षीय रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् । उजुरी दर्ता भई अदालतमा अभियोगपत्र दायर भए पनि यादव अदालतमा उपस्थित नभएर फरार रहेका थिए । 

जनता समाजवादी पार्टीका विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवार बनेका यादवले जसपाका अभिषेक यादवलाई २ हजार ६५ मतले पराजित गरेर निर्वाचित भएका थिए। सप्तरी ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित यादवले ९ हजार ९८५ मत ल्याएका थिए। त्यस अघिको प्रदेश सभाको निर्वाचनमा जसपाका अभिषेकले ९ हजार ६०५ मत ल्याएर विजयी भएका थिए ।