काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ।

‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा आजदेखि सुरु भएको हस्तकलाका सामग्रीको प्रवर्द्धन गर्ने उदेश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उद्‌घाटन समारोहमा उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद प्रक्रिया थालिने बताउनुभयो । 

केही समययता जुम्लालगायतका जिल्लामा स्याउ बिक्री नभएर बोटमै सड्न थालेको भनेर हल्ला फिजाएपछि सरकारले त्यसको बजारीकरण गर्न चासो देखाउँदा त्यहाँका स्याउका बोट नै पहिल्यै व्यापारीले ठेक्कामा किनिसकेको जानकारी प्राप्त भएको मन्त्री भण्डारीले बताउनुभयो ।

सरकारले कृषकलाई प्रोत्साहित गर्न उनीहरूले उत्पादन गरेका खाद्य पदार्थ तथा वस्तुको बजारीकरण गर्ने तयारी गरिरहेको र अहिले पनि कर्नालीको सिमी र मार्सी चामललगायत वस्तु खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारीकरण गरिरहेको जानकारी दिनुभयो ।

अब कम्पनीले हिमाली तथा पहाडी जिल्लाका किसानलाई प्रोत्साहित गर्न अन्यत्र बिक्री हुन नसकेका वस्तु खरिद गर्ने उहाँले बताउनुभयो ।

यस्तै मन्त्री भण्डारीले नेपाली उत्पादनको निर्यात वृद्धि आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले अहम् भूमिका खेल्ने धारणा राख्नुभयो । 

उहाँले नेपाली उत्पादनको उपभोग गर्नुपर्नेमा जोड दिनुभयो ।