काठमाडौं - बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपदमा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । 

विपदमा खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्‌सेवकबाट आज विहान सम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो । 

उहाँले विपदमा परी बेपत्ता परेका २२ जनाको खोजी जारी रहेको जानकारी दिँदै विपद्का घटनामा घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचारको प्रबन्ध गरिएको बताउनुभयो ।

घाइते मध्ये अधिकांश घर फर्किसकेको पनि उहाँले बताउनुभयो । विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत सामग्री समेत वितरण गरिएको जनाइएको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट २ हजार १५८ , कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ , सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ ।

प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेर यो अवधीमा उद्धारकार्य गरिएको उहाँले बताउनुभयो । खोज तथा उद्धारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी गृह मन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालयसित समन्वय गरिरहनुभएको छ । 

उहाँले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई उद्धार, राहत वितरण र घाइतेहरूको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिनुभएको छ। 

गृहमन्त्री लेखकले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरूको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरूसँग पनि छलफल गर्नुभएको थियो । 

त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपदमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ ।

प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरूबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ ।

सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपदमा परेका नागरिकहरूको सहजिकरणका लागि कार्यदल खटाएको छ ।

कार्यदललाई प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको सङ्क्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने लगायतका कार्यादेश दिइएको छ ।