काठमाडौं - लगातारको वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित भएकालाई राहत सामग्री वितरण तथा पुनःस्थापन गर्न नेपाली काँग्रेस ललितपुरले जिल्लाका ६ वटा पालिकामा प्रतिनिधि परिचालन गरेको छ ।

नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिको आजको बैठकले उद्धार, राहत सामग्री वितरण र पुनःस्थापनाका लागि समन्वय गर्न र तथ्याङ्क सङ्कलन गरी विवरण पेस गर्ने जिम्मेवारी सहित पदाधिकारी परिचालन गरेको हो । 

महाङ्काल गाउँपालिकामा ऋषिदेव फुँयाल, कोञ्ज्योसोम गाउँपालिकामा राजनप्रसाद घिमिरे, बागमती गाउँपालिकामा माधव दुलाल, गोदावरी नगरपालिकामा बालमुकुन्द घिमिरे, महालक्ष्मी नगरपालिकामा रोनिल पौडेल र ललितपुर महानगरपालिकामा सन्तोषराज केसीलाई प्रतिनिधि बनाइएको काँग्रेस ललितपुर जिल्ला कार्यसमितिले जनाएको छ । सम्पूर्ण पालिकाको समन्वयको जिम्मा ऋषिदेव फुँयाललाई दिइएको छ ।

बैठकले राहत सामग्री वितरण गर्नका लागि ‘बाढीपहिरो राहत तथा पुनःस्थापना कोष- २०८१’ स्थापना गरिएको फुँयालले जानकारी दिनुभयो । सहयोगका लागि हिमालय बैङ्क, नखिपोट शाखाको खाता नम्बरमा रकम जम्मा गर्न आह्वान गरिएको उहाँले बताउनुभयो ।

बैठकले बाढीपहिरो पीडितप्रति ‘शुभकामना होइन समानुभूति’ कार्यक्रम मार्फत समवेदना र राहत सामग्री पुर्‍याउने निर्णय गरेको पनि फुँयालले जानकारी दिनुभयो ।