काठमाडौं - वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा-काठमाडौं जोड्ने सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ । 

चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले अवरुद्ध भएका सबै सडक सञ्चालनमा ल्याउन सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले तीव्रताका साथ पहिरो पन्छाउने काम गरिरहेको जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । 

उहाँका अनुसार हेटौँडा-काठमाडौं जोड्ने सडक मध्ये हेटौँडा-भैँसे–रातोमाटे खण्ड अन्तर्गत गोल्पिङबेँसीमा ठूलाठूला ढङ्गा सहित खसेको पहिरो पन्छाउन चारवटा उपकरणसहित काम भइरहेको छ । 

यही असोज ११ र १२ गतेको वर्षाले खसेको पहिरो पन्छाएर सो सडक मङ्गलबार सञ्चालन आएकामा केही समयपछि पुनः पहिरो खसेपछि अवरुद्ध भएको प्रजिअ चिलुवालले बताउनुभयो ।  

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही खण्डअन्तर्गत भीमफेदी गाउँपालिका- ६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका- २ सिमखोला सम्मको पहिरो पन्छाइ सकिएको जनाउँदै प्रजिअ चिलुवालले इन्द्रसरोवर- २ स्थित बाढीले बगाएको कुलेखानी पुल तीव्रताका साथ निर्माण जानकारी दिनुभयो ।

दक्षिणकाली-फर्पिङ खण्डअन्तर्गत महालक्ष्मी खोलाबाट पाकेलसम्म र पाकेलबाट फर्पिङ सम्मको पहिरो पन्छाउन दुईवटा जेसिबी सहित प्रहरीको टोली परिचालन गरिएको भन्दै प्रजिअ चिलुवालले महालक्ष्मीखोलाको पुल छेउमा बाढीले बगाएको सडक पुनःनिर्माण भइरहेको उल्लेख गर्नुभयो । 

बाढीले महालक्ष्मी खोलाको पुलको छेउमा करिब एक सय ५० मिटर सडक बगाएको थियो ।

बाढीपहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोले सडक, पुललगायत भौतिक संरचनामा क्षति भएको प्रजिअ चिलुवालले बताउनुभयो । 

त्यहाँका पीडितलाई राहत सामग्री पुर्‍याउन सिस्नेरीमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन काठमाडौं-दक्षिणकाली-सिस्नेरी खण्डको पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।