काठमाडौं - दशैँपर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्राको मूल्य यसपटक सस्तो भएको छ । 

च्याङ्ग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरूले नै बिक्री मूल्य घटाएका हुन् । 

गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताउनुभयो । 

ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएको उहाँले बताउनुभयो ।

गत वर्ष काठमाडौं पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपालि ४५ हजार भन्दा कम हुने उहाँको भनाइ छ ।

गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए । 

छेवाङ सहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिडेर दुई सय ५० च्याङ्ग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुगेका छन् ।

मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङ्‍ग्राहरू दसैँमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् ।  

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत ठाउँबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङ पुगेर फर्किन थालेका हुन् ।

जडिवुडीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ ।