हरि चौधरी,

काठमाडौं – हावा भनेको एक प्रकारको भौतिक तत्व हो जसलाई वैज्ञानिकहरू जड पदार्थ भन्ने गर्दछन् । पदार्थ तीन प्रकारका हुन्छन् । हावा जहिले पनि वायु पदार्थको रूपमा रहन्छ । 


हावा केही वायुहरू मिलेर बनेको हुन्छ । तीमध्ये दुई मुख्य वायुहरु नाइट्रोजन र अक्सिजनले हावाको ९९ प्रतिशत ओगटेको हुन्छ । ९९ प्रतिशतमा ७८ प्रतिशत नाइट्रोजनको र २१ प्रतिशत अक्सिजन रहेको हुन्छ । साथै जीवित वस्तुबाट पनि केही मात्रामा कार्वनडाइअक्साइड हावामा मिसिन्छ । हावाको बाँकि एक प्रतिशत भाग बिरलै पाइने वाय जस्तैः आर्गन, नियोन, हेलियम, क्रिष्टन र जेननले ओगटेको हुन्छ । यसरी धेरै किसिमका वायुहरूको सम्मिश्रणबाट नै हावा उत्पन्न हुन्छ ।


बिरूवाको पातमा धेरै हरिया स–साना भागहरू हुन्छन् जसलाई हरितकण अथवा क्लोरोफील भनिन्छ । जसको सहायताले बिरूवाले हावा, पानी र घामको सहायताबाट आफ्नो खाना बनाउँछ । बिरूवाले लिने हावामा कार्वनडाइअक्साइड हुन्छ । जब घाम लाग्छ पातमा भएका हरितकणले पानी र कार्वनडाइ अक्साइडलाई प्रतिक्रिया गराई चिनीमा परिवर्तन गरिदिन्छ । यस प्रतिक्रियामा अक्सिजन पनि निस्किन्छ । पातको तलको भागमा स–साना प्वालहरू हुन्छन् । पातमा रहेका स–साना प्वालहरू मार्फत अक्सिजन बाहिर निस्कन्छन् । यसरी नै हामीले बोट बिरूवाद्वारा अक्सिजन प्राप्त गर्न सक्दछौं ।