हरि चौधरी,

काठमाडौं – साधारणतया मानिसको नङ एक हप्तामा ०.५ देखि १.२ मिलीमिटर बढ्ने गर्दछ । खासगरी नङ कसरी बनेको हुन्छ भनेर हेर्ने हो भने यो एउटा बाहिरी छाला अर्थात् (Epidermis) को केही भाग मात्र हो । यो तन्किलो तन्तुबाट बनेको हुन्छ जसलाई केराटिन (Keratin) भनिन्छ ।

केराटिनको कारणबाट नङ कडा भएको हो । हाम्रो नङमा देखिने सेतो चन्द्रमा आकार भएको ठाउँबाट नङ बन्ने गर्छ र यही कारणले गर्दा होला त्यहाँनेरको नङ पातलो पनि हुन्छ ।

खुट्टाको नङ र हातको नङ कुन प्रकारबाट बढ्छ भन्ने कुरामा अहिले सम्म फरक भेट्टाउन सकिएको छैन । तापनि मानिसको सोचाइ यो छ कि खुट्टा धेरै चलाई राख्नु पर्ने भएकोले यसको नङ नबढेको हो । तर छाला विशेषज्ञहरुका अनुसार बास्तवमा धेरै समयसम्म जुत्ता लगाउनाले आवश्यक मात्रामा अक्सिजन प्राप्त गर्न सक्दैन र फेरी शरीरको पूरा भार थाम्न पर्ने हुँदा नङ बढ्नमा अवरोध पुगेको हो भन्ने रहेको छ ।