काठमाडौं - इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ। 

तोशाखाना मामिलामा पक्राउ परेका खानमाथि तोकिएको सजायमा समेत अदालतले रोक लगाएको छ। खानलाई तोशाखाना मामिलामा तीन वर्षको सजाय सुनाइएको थियो। सजाय सुनाइएसँगै खान पक्राउ परेका थिए। प्रधानमन्त्री रहेका बेला सरकारी उपहारहरू बेचेको उनीमाथि आरोप छ।

अदालतले जमानतमा रिहा गरे पनि उनी रिहामुक्त हुने नहुनेबारे केही बताइएको छैन। उनीविरुद्ध अरु मुद्दाहरू पनि रहेकाले तत्काल रिहा हुने सम्भावना भने न्युन छ।

उनको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफले खानमाथि लगाइएको सबै मामिलामा जमानतको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका छन्। अदालतले यस विषयमा अहिलेसम्म सुनुवाई गरेको छैन।