– खेम कोईराला (बन्धु)
काठमाडौं – लुम्बिनीको ऐतिहासिक गहिराइ र पुरातात्त्विक महत्त्व हामीले जति बुझ्छौं, उति नै हाम्रा लागि, भावी सन्ततिका लागि र संसारका लागि गर्वका रूपमा रहने त छ नै, शान्तिको प्रतीकका रूपमा पनि प्रतिबिम्बित भइरहनेछ । हरिया समथर फाँट । वृत्ताकार भूमिको केन्द्रमा जोडी आँखाले नियालिरहेको ठूलो स्तूप । चिटिक्क परेका पदमार्ग। मन्दमन्द हावासँगै फरफराइरहेका रंगीबिरंगी पताका । चराचुरुंगीको चिरबिर । एकनासको शंखध्वनि । त्यससँगै मिसिएको गेरुवस्त्र पहिरिएका तन्नेरी तथा वृद्धवृद्धाको मधुर स्वर । सहजै अनुमान लगाउन सकिन्छ, यो लुम्बिनीको आँगन हो । यो आँगन तपाईहरुले कहिले टेक्नु भएको थियो ? आउनुस यँहा थोरै चर्चा गरौं, संयुक्त राष्ट्र संघका महासचिव उ थान्तले राजा महेन्द्रसँग लुम्बिनीमा किहले पाईला टेकेका थिए ?
बि.सं. २०२४ को बैशाखमा संयुक्त राष्ट्र संघका महासचिव उ थान्त नेपाल भ्रमणमा राजा महेन्द्रसँग लुम्बिनी घुम्न गएका थिए । ऊ थान्तलाई राजा महेन्द्रले दर्शन पुजनका लागि भ्रमण गराएका थिए । ऊ थान्तलाई भिक्षु अनिरुध्द महास्थविरले लुम्बिनी विकासका लागि आग्रह समेत गरेका थिए । यहि उ थान्तको भ्रमणले नै लुम्बिनीको आमुल परिवर्तनको प्रमुख आधार स्तम्भ बनेको हो । लुम्बिनीलाई धार्मिक पर्यटकीय स्थल बनाउन सकिने सुझाब सहितको लुम्बिनी गुरूयोजनाको चाहनामा साथ दिन उ थान्तले आग्रह गरेका थिए । ऊ थान्त र राजा महेन्द्र बीच छलफल सकारात्मक भएपछि काम अगाडि बढेको हो ।
त्यसपछि २०२६ को पौषमा UNDP को एउटा टोलीले आगामी योजनाको लागी पूर्वाधारको थालनी गरेका थिए । २०२७ मा बुद्ध धर्मका अनुयायी १३ राष्ट्र सम्मिलित "International Committee for the Development of Lumbini" को गठन भएको हो । यसैगरी २०२९ मा (Kenzo Tange) बाट गुरूयोजनाको खाका तैयार भयो, जसलाई (Kenzo Tange Master) एबिल भनिन्छ । यसलाई नेपाल सरकारले स्विकृती दिए पछि यो कार्यले निरन्तरता पायो जस्ले गर्दा उ थान्तको सपनाले साकार रूप पायो । त्यसैले उ थान्तले आफ्नो जीवनीमा “लुम्बिनी भ्रमण मेरो जीवनको सबैभन्दा महत्वपूर्ण दिन हो” भनेर लेखेका छन् । यसैले, लुम्बिनीको बिकासमा उथान्तले खेलेको भूमिकालाई नेपाल र बिश्वभरका बौध्द मतावलम्बीले सधै संझिरहने छन् !
उ थान्तको जन्म तल्लो वर्माको पन्तनभमा भएको थियो । उनले प्रारम्भिक शिक्षा पन्तनभस्थित राष्ट्रिय हाई स्कूलबाट गरेका थिए । त्यसपछि उनले रंगुन विश्वविद्यालयबाट इतिहास विषयको साथ उच्च शिक्षा हासिल गरे । धान व्यापारी परिवारमा जन्मेका उ थान्तको चार दाजुभाइमध्ये जेठा थिए । अंग्रेज शासनकालमा, उनका पिता पो हानितले कोलकाताबाट उच्च शिक्षा प्राप्त गरेपछि “द सन रंगुन“ नामक एक मानक अखबार स्थापना गरेका थिए । उनी बर्मा रिसर्च सोसाइटीका संस्थापक सदस्य पनि थिए । उ थान्त १४ वर्षको हुँदा उनको बुबाको मृत्यु भएको थियो । उनकी आमा “नान थोङ”ले उहाँ र अन्य तीन बच्चाहरूलाई पैतृक विवादका कारण कठिन र प्रतिकूल आर्थिक संकटमा हुर्काउनुभएको थियो । उहाँका तीन दाजुभाइ यू खान्ट, यू थाउङ र टिन माउङ पनि राजनीतिज्ञ र प्रखर विद्वान थिए ।
0 comment