तरल र ठोस पदार्थका अणुले दुई विपरीत ढंगबाट आकर्षण देखाउँछन् । कोहेसन (Cohesion) र एड्हेसन (Adhesion) एउटै प्रकारको अणुबीचको आकर्षणलाई कोहेसन  भनिन्छ । फरकफरक प्रकारको आकर्षणलाई एड्हेसन । एउटा राम्रो उदाहरण कालोपाटीमा लेख्ने चकको लिउँ । चक कोहेसनले गर्दा राम्ररी जमेको हुन्छ र यही चक एड्हेसनले गर्दा कालोपाटीमा राम्ररी लेखिने अर्थात् टासिने हुन्छ ।

यस्तै प्रकारले पानीका अणुमा पनि कोहेसन हुन्छ । कोहेसनले गर्दा नै पानीका अणुहरु आपसमा मिल्न गई पानीको थोपा बनेको हो । तर जब पानीलाई काँचमा राखिन्छ । त्यतिखेर पानीका अणुबीचको कोहेसनभन्दा काँच र पानीको अणुबीचको एड्हेसन बढी हुन्छ र पानी काँचमा फैलिएर रहन्छ । अब थाहा पाऔं कर्कलाको पातमा पानी किन काँचमा जस्तै नटाँसी डल्लो भई बसेको ? कुरा स्पष्ट छ, कर्कलाको पातमा पानी राख्दा कर्कलाको पात र पानी बीचको आकर्षण एड्हेसन भन्दा पानीको अणुबीचको आकर्षण कोहेसन नै बढी हुन्छ । अथवा कर्कलाको पातले पानीलाई तान्दैन र पानीको आकार कोहेसनले नियन्त्रण गरिराख्छ र पानीले डल्लो आकार लिन्छ ।