केराले चिसो खप्न सक्दैन । यसलाई चिस्यान लाग्छ । अंग्रेजीमा यसलाई (Chilling injury) भनिन्छ । चिस्यान लागेपछि अर्थात् चिसोले खाएपछि सबैभन्दा पहिले त केराको बोक्रामुनिको भाग कालो भएर जान्छ र त्यसपछि पाक्दाखेरि निस्कने जुन सुगन्ध हो त्यो बन्न सक्दैन । चिसोले धेरै खाएको छ भने माड पदार्थ (Starch) बाट चिनी बन्ने प्रक्रियामा पनि निकै कमी आउँछ र केराको गुलियो मिठो स्वाद हराउँछ । यसरी केरालाई चिसोले खाने अवस्था सामान्यतया १४ डिग्री सेल्सियस तापक्रमबाटै शुरु हुन्छ र १० डिग्री सेल्सियसमा त यो ज्यादै घातक नै हुन्छ ।
१० देखि १४ डिग्री सेल्सियस भनेको रेफ्रिजेरेटरको सामान्य तापक्रम हो । यस्तो चिसोले केरालाई किन बिगार्छ भन्ने चाहिँ सकिएको छैन तर यसो हुनुको कारण यात चिसोले आवश्यकीय रासायनिक वस्तुहरु उत्पादन हुन दिँदैन या यसले कुनै विषालु वस्तु बढी पैदा गरिदिन्छ । धेरैजसो के देखिएको छ भने चिसोले पाकेको भन्दा नपाकेको फलफूललाई बढी बिगार्छ । अध्ययनहरुले के देखाएको छ भने चिसोले कोषहरुभित्र पाइने माइटोकन्ड्रिया (Mitochondria) लाई विशेष गरेर असर पुर्याउने रहेछ । माइटोकन्ड्रिया सबै जीवहरुको कोषहरुभित्र पाइन्छ । यो श्वासप्रश्वास प्रक्रियासित सम्बन्धित महत्वपूर्ण अवयव हो । चिसो खप्न नसक्ने वनस्पतिहरुलाई रेफ्रिजेरेटरमा राख्दा तिनको स्वासप्रश्वास दर र उर्जा उत्पादन दुवै चिसो खप्न सक्नेको तुलनामा ४ देखि ६ गुनाले घटेको पाइयो । यसको प्रत्यक्ष असर अघि उल्लेख गरेजस्तै केराको बोक्राभित्रको तह कालो भएर जानु र चिनी बन्ने प्रक्रियामा ह्रास आउनु हो । चिसो खप्न नसक्ने फलफूलमा केरामात्र होइन मेवा आँप सुन्तला भूइँकटहर आदि पनि पर्दछन् । यसकारण यी फलफूलहरुलाई तपाईं रेफ्रिजेरेटरको चिसोमा राखेर धेरै दिन टिकाउन सक्नु हुन्न,झन् उल्टो त्यसले बिगार्छ मात्र ।
0 comment