काठमाडौंं – टेष्ट ट्यूब बेवी भनेको कुनै अनौठो खालको बच्चा हैन । उनीहरु पनि सामान्य तरिकाबाट जन्मेका बच्चा सरह नै हुन्छन् । ती बच्चाहरु जन्मनु अघिको विकास क्रममा हुने कोष विभाजनको केही भाग प्रयोगशालाको टेष्ट ट्यूवमा गुज्रने भएकोले ती बच्चाहरुलाई टेष्ट ट्यूव बेवी भनिएको हो । कतिपय आइमाईहरु विभिन्न शरीरिक कारणले गर्दा बच्चा जन्माउन असमर्थ हुन्छन् । त्यस्ता आइमाईको डिम्बलाई शरीरबाट झिकी प्रयोगशालाको टेष्ट ट्यूवमा राखिन्छ । त्यस डिम्बसंग उनको पतिको शुक्रकीटको मिलन गराइन्छ । 

आमाको शरीरभित्र डिम्ब र शुक्रकिटको मिलन भएपछि जीव अर्थात बच्चाको बिकासक्रम शुरु हुने भए जस्तै टेष्ट ट्यूवमा पनि जीवको विकास क्रम शूरु हुन्छ अर्थात कोष विभाजन शुरु हुन्छ । केही समय पछि त्यस्ता विभाजन कृया शुरु भइसकेको कोषलाई फेरी आमाको गर्भाशयमा राखिन्छ । त्यसपछिको विकास क्रम बच्चा नजन्मिउन्जेल आमाको गर्भाशय मै हुन्छ र अन्य बच्चा सरह करीब ३६ हप्ता अर्थात ९ महिना पछि बच्चाको जन्म हुन्छ । यस प्रकारले बच्चा जन्माउने बिशेष शीप र प्रयोगशालाको बिशेष वातावरणको आवश्यकता पर्दछ । यस प्रकारले प्रथम पटक सन् १९७८ मा जन्मेको बालिका बेलायतको लुइस ब्राउन हुन् । लुईस पछि अन्य धेरै बालबालिका यसरी जन्मिसकेका छन् ।