काठमाडौं – पृथ्वीमा जीवनको उत्पत्ति र विकास क्रमका लागि सौर्य ऊर्जाले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको छ । सूर्यबाट पृथ्वीमा आइपुग्ने सौर्य विकिरण नै सौर्य उर्जाको मुख्य स्रोत हो । हिजोआज सौर्य उर्जालाई नवीकरणीय ऊर्जा को रुपमा लिइन्छ । यो निरन्तर प्राप्त भइरहने ऊर्जा हो र अहिले विश्वमा यस्तो प्रविधिको विकास पनि भइसकेको छ जसबाट सौर्य प्रकाशलाई विद्युत र तापीय उर्जामा रुपान्तरण गर्न सकिन्छ । प्रकाश विभव अर्थात् फोटोभोल्टेक र ताप पद्धति अर्थात् थर्मल सिस्टम सौर्य प्रकाशलाई ऊर्जा स्रोतका रुपमा प्रयोग गर्ने कल्पना पहिलोपल्ट कसले ग¥यो भन्न निश्चय नै कठीन छ ।
ईसापूर्व ४७० मा दार्शनिक सुकरातले पहिलो पटक उर्जाका सम्बन्धमा सौर्य ऊर्जा सिद्धान्तको वर्णन गरेको पाईन्छ । यसको ठीक १७० बर्षपछि युनानका गणितज्ञ युकिल्डले सौर्य ऊर्जाको उपयोगितालाई बुझे र एक सिद्धान्त प्रतिपादन गरे । झण्डै २८७ बर्ष पूर्व सुप्रसिद्ध युनानी दार्शनिक एवं गणितज्ञ आर्किमिडिजले पहिलोपल्ट सौर्यलाई प्रयोगात्मक रुपमा उपयोग गरेका थिए । उनको यो प्रयास पछि नै विश्वमा सौर्य ऊर्जा अध्ययनको नवीन अध्याय सुरु भयो । यस्तो पनि भनिन्छ कि आर्किमिडिजले ठूलठूला ऐनाबाट सूर्यको किरणलाई फर्काएर शत्रुपक्षका जहाजहरु समेत जलाइ दिएका थिए । यसपछि सन् १६१५ मा जल पम्पको आविष्कार भयो यो नै विश्वमा सौर्य ऊर्जाबाट चल्ने पहिलो प्रविधि थियो ।
सन् १७९० मा सौर्य ऊर्जा संग्रहण पद्धतिको खोज थियो । त्यसपछि सन् १८७२ मा सौर्य आसवन यन्त्रको विकास भयो । अध्ययन र विकासको यो क्रम सँगसँगै सौर्य प्रकाशलाई विद्युत ऊर्जामा परिणत गर्ने अनुसन्धानलाई पनि बैज्ञानिकहरुले निरन्तरता दिंदै गए । सन् १८८३ मा अमेरिकी बैज्ञानिक चाल्र्स फ्रिट्सले सेलेनियम वेफरको प्रयोग गरी पहिलो सौर्य सेलको आविष्कार गरे । यसको विद्युत उत्पादन क्षमता अत्यन्त न्यून थियो । त्यसपछि सन् १९५७ ताका अमेरिकाको होफम्यान इलेक्ट्रोनिक्स कम्पनीले पहिलोपल्ट आठ प्रतिशत विद्युत परिवर्तन क्षमता भएको सौर्य सेल बजारमा ल्यायो ।
सन् १९५८ मा अमेरिकाले आन्तरिक्षमा रहेको भू–उपग्रह सञ्चालन गर्न पहिलोपल्ट सौर्य सेलको प्रयोग गरेको थियो । सन् १९७० मा तेलको मूल्यमा ठूलो वृद्धि भएपछि विकसित राष्ट्रहरुको ध्यान वैकल्पिक ऊर्जाको अध्ययन तथा अनुसन्धानमा केन्द्रित भयो । त्यसपछि अन्तरिक्ष सौर्य ऊर्जा प्रविधिमा प्रयोग हुँदै आएको सौर्य सेललाई पृग्वीमा मानव विकासका लागि वैकल्पिक ऊर्जाका रुपमा प्रयोग गर्न थालियो र अहिलेसम्म विश्वका दुर्गम क्षेत्रहरुमा वैकल्पिक ऊर्जा स्रोतको रुपमा सौर्य प्रविधिको माध्यमबाट विद्युत उत्पादन हुने गरेको छ । २०१० सम्ममा नेपालमा लगभग नौ मेगावाट सौर्य विद्युत उत्पादन गर्न सकिएको छ । नेपालका अधिकांश दुर्गम भेगका टेलिफोन लगायत अन्य विद्युतीय साधनहरु सौर्य ऊर्जाबाट नै चलेका छन् ।
0 comment