काठमाडौं - वि विल राइज फाउन्डेसनको ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगिताका विजेता भिडियोहरूको हङकङमा प्रदर्शनी गरिएको छ ।
नेपाल टुरिजम फिल्म फेस्टिभल नाम दिइएको कार्यक्रममा वेस्ट भिडियो अफ द इयरको विजेता टिम डुलुवाको ‘दी नर्थन वाल’, जजेज च्वाइस आर्यन कुँवरको ‘मयुरी चाल’, टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’, मोस्ट इनरजेटिक भिडियो मेकर, फ्युचर स्टार अफ दी इयर आर्दश पाण्डे, मोस्ट पोटेन्सियल डेस्टिनेसन ‘सन्दकपुर गाउँपालिका’, वेस्ट एडिटर आकाश धिमाल, वेस्ट स्क्रिप्ट भ्वाइस ओभर रुमन थापा, वेस्ट स्टोरी कन्सेप्ट निर्देशन सुरेशकुमार मुखिया, वुमन भिडियो मेकर अफ दी इयर गरिमा भण्डारी र वेस्ट सिनेमाटोग्राफर सन्तोष मालेकका १० विधाका भिडियोहरू प्रदर्शन गरिएको थियो।
नेपालका दूरदराजका पर्यटकीय सम्भावना भएका स्थानहरूको खोज र प्रवर्द्धनका लागि भन्दै उपस्थित विभिन्न संघसस्थाका प्रतिनिधि, ब्यवसायी र ब्यक्तिले फाउन्डेसनलाई ४५ हजार १५५ हङकङ डलर (करिब ८ लाख रुपैयाँ) सहयोग उपलब्ध गराएका थिए।
कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङले प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका ठाउँहरूको प्रवर्द्धन र प्रचार गर्ने हेतुले भिडियो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको बताए। गुरुङले आन्तरिक पर्यटनलाई बढवा दिएमात्र संसारभर छरिएका नेपालीले आफ्नो देशको सुन्दरताको प्रचार गर्न सक्ने बताए। उनले भने, ‘हामी हाम्रै देशको कतिपय रमणीय स्थानहरूमा पुगेका छैनौं। कति सुन्दर संस्कृति र परम्परा देख्नसम्म पाएका छैनौं। पर्यटकीय सम्भावना भएका ठाउँहरूको पहिचान मात्र होइन, तिनीहरूलाई बजारमा ल्याउनका लागि फिल्म फेस्टिभलले सेतुको काम गर्ने विश्वास लिएको छु। हाम्रो कला संस्कृतिलाई विश्वभर उजागर गर्न यसले सघाउने छ।’
हङकङका लागि महावाणिज्यदूत उदयबहादुर रानामगरले प्रदर्शनीले नपुगेको, नदेखेको स्थान, प्राकृतिक सम्पदा, परम्पराको परिचय दिएकोमा खुसी ब्यक्त गरे। उनले देशकै सौन्दर्यलाई संसारभर प्रचार गर्ने काममा तल्लिन संस्थालाई निरन्तर लाग्नका लागि शुभकामना दिए।
हङकङेली नेपाली समाजका अगुवा, संघसंस्थाका प्रतिनिधि, व्यवसायी, शिक्षक, कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज, राइज मिडिया नेटवर्क र नेपाल पर्यटन बोर्डको सहकार्य थियो।
0 comment