काठमाडौं - इरानले यूएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी एक नेपालीसहित तीनजना विदेशी नागरिकको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी  तीन जना विदेशी नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन ।

यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् । मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको छ ।

यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले एक नेपालीको मृत्यु भएको सरकारी जानकारी प्राप्त भएको बताए। रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ ।  तीमध्ये २१ वटा ड्रोनहरू बस्ती र भौतिक संरचनामा परेका छन् ।