काठमाडौं - साउदी अरबको शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

बुधबार बिहान भएको आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन प्रहार गरिएको थियो। उक्त ड्रोनलाई साउदीको हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको जनाइएको छ।

घटनामा मृत्यु भएका नेपाली नागरिकको नाम, ठेगाना तथा अन्य व्यक्तिगत विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन। आक्रमणमा घाइते भएका पाकिस्तानी र भारतीय नागरिकको अवस्थाबारे पनि विज्ञप्तिमा विस्तृत जानकारी दिइएको छैन।