काठमाडौं - दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चार महिला घाइते भएका छन्। आइतबार बिहान घरमै पुगेर एक व्यक्तिले हतियार प्रहार गर्दा उनीहरू घाइते भएका हुन्।
प्रहरीका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेका थिए। घाइते हुनेमा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बीमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन तथा छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन रहेका छन्। घाइतेमध्ये बीमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते चारै जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी पुर्याइएको थियो। गम्भीर घाइते बीमालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ भने अन्य घाइतेलाई पनि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रावतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


0 comment