काठमाडौं – जोगबुढा नदीमा फसेका ५ बाल–बालिकाको उद्धार भएको छ ।
मंगलबार दिउसो साढे १ बजेतिर गाई बाख्रा चराउन गएका दोधाराचाँदनी नगरपालिका–३ बडुवाल टोलका बालबालिका जोगबुढा नदीमा अचानक बाढी आएपछि बीचमै फसेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो ।
यसरी उद्धार गरिनेमा, बडुवाल टोलकी १२ वर्षीया खुसी राना क्षेत्री, ९ वर्षीया सानु दमाई, ११ वर्षीया रोशनी सुनार, ९ वर्षीया भावना सुनार र १० वर्षीया मुस्कान दमाई रहेको प्रहरीले जनाएको छ ।
दोधाराचाँदनी नगरपालिका–३ स्थित मायापुरी जंगल नजिक नदीमा बालबालिका फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) भीम बहादुर चन्दको कमाण्डमा खटिएको १२ जनाको टोलीले बालबालिकाको उद्धार गरेको हो ।
दिउसो करिब ३ बजे बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलको ३५ नं. गण कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जानकारी दिएका छन् ।
पछिल्ला केही दिन निरन्तर वर्षा भइरहेको छ। जोगबुढासँगै महाकाली नदीको जलस्तर पनि बढेको छ ।
0 comment