काठमाडौँ – सय किलो सुन बरामद प्रकरणमा भन्सार अधिकृत निलम्बन भएका छन् । 

यसरी निलम्बनमा पर्ने भन्सार अधिकृत सन्तोष चन्द रहेको राजस्व अनुसन्धान विभागका एक अधिकारीले जानकारी दिएका छन् । चन्द सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ । 

विमानस्थलमा रहेको राजस्व अनुसन्धान विभागका अधिकारीले यस प्रकारले सुन तस्करी हुँदैछ भन्ने पूर्वसूचना पाएका थिए । सूचनालाई पछ्याउँदै जाँदा राजस्वका कर्मचारी तस्करीको सुनसम्म पुग्न सफल भएका हुन् । गोप्य रूपमा अनुसन्धान नै सञ्चालन गरेर सुन बरामद गर्न सकिएको त्यहाँका एक कर्मचारीले बताए । भन्सार जाँचपास गर्ने कर्मचारी पनि अनुसन्धानको घेरामा छन् । केही व्यक्ति फरार रहेका छन् ।   

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो ।