काठमाडौं – रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हो ।
छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिनु भएको छ । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ ।
यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष डाँगीले जानकारी दिनु भएको छ । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।
बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम भने २० वर्षसम्म झिक्न पाइने छैन । उक्त कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव समेत गरेको छ ।
0 comment