काठमाडौं – करबि १०० किलो सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले एक भारतीय नागरिक सहित छ जनालाई पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेहरुमा, दोलखा मेलुङ गापा ३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय राम कुमार भुजेल, मेलुङ गापा ३ घर भई हाल साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुर अरुण गापा ४ घर भई हाल बुढानिलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र यसैगरी भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ र भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सीका चालक रहेको राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन् । 

सुन बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिर लैजाँदै गर्दा बरामद भएको बताइएको छ । सुनलाई मोटरसाइकलको ब्रेक सु र दाह्री काट्ने रेजरमा लुकाएर ल्याइएको थियो । सामानको भन्सार पास गर्ने क्रममा सामानभित्रको सुन पनि कर्मचारीकै मिलेमतोमा पास भएको बताइएको छ । बरामद सुनमा ठूलो व्यापारिक समूह संलग्नता हुन सक्ने प्रहरी अधिकारीको आंशका छ । बुधबार दिउँसो दुई बजे भन्सार पास भएको उक्त सुन तीन घन्टापछि बरामद भएको हो । यो समूहले यसअघि पनि ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने प्रहरीको आशंका छ रहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा १ सय ६० वटा सुनको टुक्रामा ल्याइएको पाइएको छ । विमानस्थल भन्सार कार्यालयले भने यस विषयमा केही जानकारी नभएको बताइएको छ । 

प्रवक्ता नवराज अधिकारीका अनुसार अहिलेसम्म पनि सुनको एकिन परिणाम थाहा न भइसकेको बताएका छन् । सबै सुन जोखेर सकिएको छैन । स्कुटरको ब्रेक सुको भित्रपट्टी टासिएर रहेकोले निकाल्न समय लागेको र पूरै सुन हालसम्म जोख्न नसकिएको उनले बताएका छन् । 

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको अबैध सुन मंगलबार प्रहरीले बरामद गरेको । बुधबार चेकजाँचबाट पुष्टी भएपछी मात्र सार्वजनिक गरिएको थियो ।

सुन जडित मोटर पार्टस् कसरी भन्सार पास भयो अनुसन्धान गरिने बताएको छ। बरामद भएको सुनको तौल दिनका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको छ। सुनको शुद्धता पहिचान गर्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगिनेछ । 

विमानस्थलमा रहेको राजस्व अनुसन्धान विभागका अधिकारीले यस प्रकारले सुन तस्करी हुँदैछ भन्ने पूर्वसूचना पाएका थिए । सूचनालाई पछ्याउँदै जाँदा राजस्वका कर्मचारी तस्करीको सुनसम्म पुग्न सफल भएका हुन् । गोप्य रूपमा अनुसन्धान नै सञ्चालन गरेर सुन बरामद गर्न सकिएको त्यहाँका एक कर्मचारीले बताए । भन्सार जाँचपास गर्ने कर्मचारी पनि अनुसन्धानको घेरामा छन् । केही व्यक्ति फरार रहेका छन् ।