काठमाडौं - काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको विवरण भने सार्वजनिक गरिएको छैन ।
सिनामंगल पुल नजिकै रहेको खोटाङ हलेसी ज्वेलर्स नजिकै बुधबार बिहान शंकास्पद वस्तु भेटिएको थियो। कालो टेपले बेरेको र तार बाहिर निस्किएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो। शंकास्पद वस्तु राखिएको स्थानमा नेपाल उत्थान क्रान्तिकारी नामक पार्टीको पर्चा समेत भेटिएको थियो।
'खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सर्पोट गर्नुहोस्। तपाईको सहयोगले हाम्रो देश र जनताहरुको प्रगति हुनेछ भन्ने हाम्रो आस हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ सावधान रहनु होला', उक्त पर्चामा लेखिएको थियो।
शंकास्पद वस्तु भेटिएपछी घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु बम नभएको बताएको थियो। डर देखाउन शंकास्पद वस्तु राखिएको प्रहरीले जनाएको छ।
0 comment