काठमाडौं - सप्तरी प्रहरीले १७ वर्षीया किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका–१२ धर्मपुर टोलका ४० वर्षीय कैलाश भनिने टेकराज पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदी रहेका छन् ।
घरमै केटा साथी बोलाएर भेटेको भन्दै किशोरीलाई घरबाटै नियन्त्रणमा लिई ५० मिटरको दूरीमा रहेको फुसको घरमा लगेर निलडाम हुने गरी कुटपिट गर्दै आफूहरुसँग पनि सुत्नु पर्ने शर्त राखेको र तीन जनाले पालैपालो बलात्कार गरेको किशोरीको आरोप छ ।
गत शुक्रबार राति खाना खाएर दुई साना बहिनी सुतिसकेको, आमा घरधन्दामा व्यस्त रहेको र कक्षा ९ मा अध्ययनरत किशोरी माइली बहिनीसँग बसेर पढिरहेको बेला साथीहरूसँग चिनजान भएको एक जना केटा साथी घरमा सबै जनाकै अगाडि भेटेर कुरा गरेको स्थितिमा बाहिर ढुकेर बसेका चार जना आरोपितहरूले रातिराति केटीसँग भेट्न आउने भन्दै केटालाई कुटपिट गरेको किशोरीले बताईन् ।
पिडितको वयान अनुसार उनीहरुले किशोरी र केटालाई कोठाभित्र ल्याएर सँगै राखेर फोटो र भिडियो खिचेपछी एउटा कोठामा केटा तथा अर्को कोठामा किशोरीकी बहिनी र आमालाई थुने । त्यसपछी, उनीहरुले किशोरीलाई मुख छोपी नियन्त्रणमा लिई सोमबहादुर मगरको खाली घरमा लगेर निलडाम हुने गरी कुटपिट गरी बाहिरबाट केटा बोलाएर सँगै बस्ने, सुत्ने गरेको आरोप लगाउँदै आफूसँग पनि सुत्नु पर्ने शर्त राखे । उनीहरूले कोठामा खिचेको फोटो, भिडियो सामाजिक सञ्जालमा भाइरल गर्ने धम्की समेत दिए ।
किशोरीले महिनावारी भएको बताएपनी उनीहरुले रातभर सामुहिक बलात्कार गरेर बिहान ३ बजे घर ल्याएर छोडेको किशोरीले बताईन् । त्यसपछी, घरमा थुनेर राखेको केटा साथीलाई कुटेर खेदाउँदै आरोपितहरूले किशोरीकी आमा र छिमेकीहरूलाई समेत हपारेर गएको किशोरीले बताईन् ।
ज्यालामजदुरी गर्न धनुषाको महेन्द्रनगरमा बसेका किशोरीका बुबा घर आएपछि आरोपितहरूले उल्टो पोल लगाएको पनि किशोरीले बताईन् । बुवाले आइतबार राति घटनाबारे सोधेपछि उनले सबै कुरा बताएको थिईन् । घटनाबारे सविस्तार सुनेपछी बुवाले परिवारका सदस्य र आफन्तसँग सल्लाह गरे र सहयोग मागे।
आरोपितहरूले बलात्कार गरेको अस्वीकार गरेपनि किशोरीलाई राति लगेको, सम्झाएको र बिहान घर छाडेको कुरा स्वीकारेपछी पिडित किशोरीको परिवारले सोमबार इलाका प्रहरी कार्यालय कञ्चनरूप पुगेर उजुरी गरेको थियो। सोमबार नै किशोरीको स्वास्थ्य परीक्षणपछी पीडितको उजुरी, घटनास्थल मुचुल्का र स्वास्थ्य परीक्षणका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनरूप सप्तरीले आरोपितहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका चारै जना आरोपितहरूमाथी थप अनुसन्धान गर्न सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ। होटल व्यवसायी टेकराज योजनाकार रहेको र उनकै योजना र प्रत्यक्ष संलग्नतामा घटना भएको गाउँलेले बताएका छन्।
0 comment