काठमाडौं - मिटरब्याज पीडितहरूले सरकारले ल्याएको मिटरब्याजसम्बन्धी नयाँ विधेयकले पीडितहरूको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी रहने स्पष्ट पारेका छन् ।

मिटरब्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मिटरब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्टी जनाउँदै विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पति छानबिन गर्न नसक्ने र पीडितलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने जनाएको छ ।

समितिले अघिल्लो व्यवस्थामा पुराना लिखतहरूलाई साहुमहाजन र ऋणी वडामा गएर प्रमाणित गराउनुपर्ने भन्ने रहेपनि अहिले साहुमहाजन एकपक्ष मात्रै गए पनि हुने बनाएको भन्दै असन्तुष्टी जनाएको छ । साहुमहाजनसँग भएका कागजपत्रको छानबिन हुनुपर्ने र अनुचित लेनदेन देखिए कारवाही हुनुपर्ने उनीहरुको माग छ।

समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शनसहित संसद भवन घेराउ गरे । उनीहरुले नयाँ विधेयक मिटरब्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् । 

आइतबार मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको थियो ।