काठमाडौं - बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गरेका छन्।
महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाका बासिन्दाले अवरोध गरेकाले सोमबारदेखि उपत्यकाका फोहोर व्यवस्थापन हुन सकेको छैन। सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले आफ्ना मागप्रति व्यवास्ता गरेकाले माग पूरा नभएसम्म फोहोर फाल्न नदिने भन्दै बिहानैदेखि स्थानीयहरू सडकमा भेला भएका थिए।
स्थानीयबासीले सहमतिका नाममा आफूहरूलाई झुक्याइएको आरोप लगाएका छन् । महानगरले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्ने लगायत सहमति ल्याण्डफिल्ड साइट क्षेत्रका बासिन्दासँग गरेको थियो ।
सर्वोच्च अदालतले सोमबार बञ्चरेडाँडामा फोहोर विर्सजनमा अवरोध नगर्न सरोकारवालाहरूलाई आदेश दिएको थियो। तर सर्वोच्चको आदेशको अवज्ञ गर्दै स्थानीयहरूले बिहानैदेखि फोहोरका गाडीमा अवरोध गरेका छन्। स्थानीयबासीको अवरोधका कारण फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिए थिए।
विगतका वर्षमा पनि स्थानीयबासीकै अवरोधका कारण उपत्यकाको फोहोर महिनौं सडकमै थुप्रने गरेको थियो ।
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो। सिसडोल भरिएपछि उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
0 comment