काठमाडौं - वीपी राजमार्गमा आजदेखि रातिको समयमा पनि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । 

यसअघि स्थानीय प्रशासनले कमलामाई नगरपालिका -९ भिमानमा रोक्दै आएका सार्वजनिक यातायातका साधन आजबाट खुल्ला गरिएको हो । स्थानीय प्रशासनले सडक सुरक्षाको कारण देखाउँदै वीपी राजमार्गअन्तरगत भिमान चेकपोष्ट र काभ्रेपलान्चोकको काभ्रेभञ्ज्याङ चेकपोष्टमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मकका लागि सार्वजनिक यातायातका सवारी साधनलाई रोक लगाउँदै आएको थियो । व्यवसायी र स्थानीय प्रशासनसँगको समन्वयमा साउन १ गते सोमबारदेखि सिन्धुली जिल्ला अन्तरगत भिमानमा रोकिदै आएको सवारीलाई सिन्धुली सदरमुकाम सिन्धुलीमाढी तथा बसपार्कसम्म आउन दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनायो ।

आइतबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवाल, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठसहितको छलफल तथा समन्वयमा भिमानमा रोकिदै आएका सवारीलाई भिमानबाट सिन्धुलीमाढीसम्म आउन दिने सहमति भएको हो ।

साँझ सात बजेबाट वीपी राजमार्गको भिमान र काभ्रेभन्ञ्याङबाट सार्वजनिक सवारी प्रवेशमा रोक लगाउँदा सयौं सवारी साधनहरू अलपत्र पर्ने गरेका थिए । 

वीपी राजमार्गमा दिउँसो भने मालवाहक ट्रक सञ्चालनमा रोक छ । यस्ता ट्रकहरूलाई राति आठ बजेबाट सञ्चालन अनुमति दिइएको छ ।

सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार दिउँसो ट्रक तथा ट्रिफर चल्न नदिने र रातको समयमा बस तथा यात्रुबाहक सवारी सञ्‍चालन हुन नदिने गर्दा व्यवसायी र यात्रुहरू निक्कै समस्यामा पर्ने गरेका छन् । रातको समयमा भिमानबाट सिन्धुली बसपार्कसम्म सवारी आउन दिँदा पनि धेरै राहत हुने उनको भनाइ छ । श्रेष्ठका अनुसार रातको समया सिन्धुली बसपार्क आउने सवारीले भोलिपल्ट कमलामाई नगरपालिका ७ स्थित शिवनगरमा रहेको ट्राफिक चोकबाट टाईम कार्ड लिएर सार्वजनिक यातायात सञ्चालन गर्न सक्नेछन् । 

वीपी राजमार्गको भिमानदेखि काभ्रेभन्ञ्याङसम्म प्रहरीले टाइमकार्ड लागू गरेको छ । यस खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातले अनिवार्य टाइमकार्ड प्रयोग गर्नुपर्दछ ।