काठमाडौं - काम सकिएपछी पनि  रकम भुक्तानी नभएपछी निर्माण व्यवसायीहरूले सडक डिभिजन कार्यालय रौतहटको कार्यालय घेराउ गरेका छन् । 

चालु आर्थिक वर्षमा सम्पन्न गरेका विकास निर्माणको कामको रकम भुक्तानी नगरेको भन्दै रौतहटको चन्द्रनिगाहपुरस्थित कार्यालयमा निर्माण व्यवसायीहरूले विरोध गरेका हुन् ।

निर्माण व्यवसायी संघ रौतहटका पदाधिकारीहरु कार्यालयको गेटमा विरोधस्वरुप टायर बालेर धर्नामा बसेका छन् । सो कार्यालयअन्तरगत रौतहट र सर्लाही दुई जिल्लामा संघीय भौतिक पूर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ।

कार्यालयले विभिन्न निर्माण व्यवसायीको २५ करोड रुपैयाँ बढि रकमको बिल भुक्तानी नगरेकाले बाध्य भएर धर्ना र कार्यालय घेराउ गर्नुपरेको निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए । दुई जिल्लाका ४० जना बढि निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । कार्यालयका प्रमुख दरोगा प्रसादले व्यवसायीलाई कमिसन लागि दु:ख दिने गरेको आरोप निर्माण व्यवसायीको छ ।

कार्यालयका नायव सुब्बा रुपलाल यादवले अर्थमन्त्रालयबाट पैसा निकासा नभएकले भुक्तानी हुन नसकेको बताउँदै सबै कुरा आफूले भन्न नमिल्ने बताए।