काठमाडौं - राष्ट्रीय ध्वजावाहक नेपाल वायुसेवा निगमको दुवै न्यारोबडी–३२० ग्राउन्डेड भएका छन्। 

इन्जिनका कारण न्यारोबडी ९ एन - एकेडब्लु (सगरमाथा) र ९ एन - एकेएक्स (लुम्बिनी) ग्राउन्डेड भएका हुन्। गत हप्ताबाट ग्राउन्डेड भएको सगरमाथाको इन्जिन मर्मत भइरहेको छ भने लुम्बिनीको इन्जिन नै फेर्नुपर्ने निगमले जनाएको छ। दुवै न्यारोबडी ग्राउन्डेड भएपछि निगमको सबै नियमित उडान प्रभावित भएका छन्। 

वाइडबडीबाट सबै नियमित उडान गरिएको र कुनै पनि उडान रद्द नगरिएको निगमले जनाए पनि यात्रुहरूलाई टिकटको मिती सार्न अनुरोध गरिएको छ।

नियमित जाँचका क्रममा इन्जिनभित्र समस्या देखिएपछि सगरमाथा ग्राउन्डेड भएको हो। यो जहाज गत जेठ २७ गते दुबई विमानस्थलमा चरा ठोक्किएपछि पनि ग्राउन्डेड भएको थियो। चरा ठोक्किएकै इन्जिनमा असार १४ गते फेरि समस्या देखिएपछि भारतमा लगेर मर्मत गरिएको थियो। उक्त विमानमा पुनः समस्या देखिएपछि भारतबाट नै प्राविधिज्ञ ल्याएर मर्मत भइरहेको निगमले बताएको छ। गत वर्ष पनि इन्जिनमा समस्या देखिएपछि यो विमान दोहामा तीन महिनासम्म थन्किएको थियो। भाडामा इन्जिन लगाएर उडाइएको थियो। 

लुम्बिनी भने इन्जिन फेर्नुपर्ने ठाउँसम्म जानका लागि पनि इन्जिन साइकल अवधि चाहिने भएकाले अहिले ग्राउन्डेड गरिएको हो। जहाज एकपटक उडेर अवतरण गर्ने पुर्ण प्रक्रीयालाई एक साइकल भनिन्छ। एउटा इन्जिनको अवधि करिब १७ हजार साइकल हुने बताइन्छ। उक्त विमानको चार साइकल मात्रै बाँकी छ।

इन्जिन धेरै महँगो पर्ने भएकोले जगेडामा नराखिएको निगमको भनाइ छ। इन्जिनमात्रै फेर्न दुई दिन मात्रै लाग्ने भए पनि सरकारी सार्वजनिक खरिद अनुसार जानुपर्ने भएकोले केही समय लाग्ने बताइएको छ। 

इन्जिन खरिदका लागि जहाज मर्मत गर्ने कम्पनीहरूसँग कोटेसन माग्ने प्रक्रिया अघि बढेको जानकारी दिइएको छ। निगमले दुई वटा एयरबस–३२० (न्यारोबडी) र दुई वटा एयरबस–३३० (वाइडबडी) बाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।