काठमाडौं - अध्यागमन कार्यालयले नक्कली कागजात पेश गरी श्रम स्वीकृति लिएका तीनजनालाई कुवेत जान प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ । 

चन्द्रबहादुर गुरुङ, राजकुमार श्रेष्ठ र काजीराम श्रेष्ठले नक्कली कागजपत्र पेश गरेर श्रम स्वीकृति लिएको पाइएपछि अध्यागमनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको हो । 

उनीहरूले कुवेतको नक्कली कागजात (Civil Id) पेश गरी श्रम स्वीकृति लिएको खुल्न अएको छ । कुवेत नपुगी त्यहाँको (Civil Id) लिन नसकिने जानकारहरूले बताउँछन् ।

अध्यागमनका अधिकारीहरूले कागजात जाँच गर्दा श्रम स्वीकृतिलगायत उनीहरूको प्रवेशाज्ञा र रोजगार कम्पनीसँग भएको सम्झौता पत्रमा समेत समस्या देखिएको छ ।  सम्झौता पत्रमा भएको कम्पनीलगायतको विवरण फरक पाइएपछि अध्यागमनका अधिकारीहरूले उनीहरूमाथि थप सोधपुछ गरेका थिए । 

श्रम कार्यालयका अधिकारीले नक्कली कागजातका आधारमा उनीहरूलाई कसरी श्रम स्वीकृति दिए भन्ने विषय अनुसन्धानको पेचिलो विषय बनेको छ । अर्को मुलकको (Civil Id) बनाएर उनीहरूले किर्ते काम गरेको समेत अध्यागनका अधिकारीहरूले बताएका छन् । 

चन्द्रबहादुर र  राजकुमार पहिलो पटक विदेश जाँदै थिए । काजीराम भने यसअघि दुवइ गएका थिए । उनीहरु कुवेत एयरलाइन्सको उडान नम्बर केयू ३९२ बाट सोमबार बिहान कुवेत प्रस्थान गर्दै थिए ।