काठमाडौं – कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सेना (जेलरले) रूपैयाँ लिएर कैदीलाई भगाएका छन् । तिमिल्सेनाले मोटो रकम दिए तिमीहरूलाई जेलबाट भगाइदिने भन्दै आएको नाम नबताउने सर्तमा एक कैदीले बताएका छन् ।

तिमिल्सेनाले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका गौरिगंगा नगरपालिका ९ का इश्वर पौडेलबाट मोटो रकम लिएर भगाएको कारागार स्रोतले जानकारी दिएको छ । 

४ महिना अगाडी ३४ ग्राम लागूऔषध खैरो हिरोइनसहित पारस बम, राम सिराडी र इश्वर पौडेल पक्राउ परेका थिए । पक्राउ परेका मध्ये इश्वर पौडेलबाट जेलर तिमिल्सेनाले मोटो रकम लिएर भगाएका हुन् । 

जेलर तिमिल्सेनालाई यसबारे बुझ्दा कैदी पौडेललाई आफुले छोडेको स्वीकार गरेका छन् तर इश्वर पौडेलसंग आफुले रूपैयाँ नलिएको जिकिर गरेका छन् । साथै इश्वर पौडेल १५ ग्राम लागूऔषध खैरो हिरोइनसिहत पक्राउ परेको मुद्दामा सफाइ पाएको आधारमा आफुले छोडेको बताएका छन् । तर ३४ ग्राम खैरो हिरोइनसहित पक्राउ परेको मुद्दामा भने सफाई नपाएको पनि स्वीकार गरेका छन् । 

रिहा गरीएका भनेका पौडेलको एक सातादेखि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।