काठमाडौँ – पर्वतमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाईत भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

दुर्घटनामा परी टाउको र आँखामा गम्भीर चोट लागेकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको पर्वत अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

यसरी दुर्घटनामा परी घाईते हुनेहरुमा, दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या,  १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक रहेका छन् ।

घाईते मध्ये सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको र उनीहरुको स्वास्थ्ये अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।