काठमाडौं - आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए।
उनका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’,‘रामगीता’ लगायत दर्जनौं साहित्यिक कृति प्रकाशित छन् । भानु जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले कमलादीमा रहेको भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको सांस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताए । उनले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भानुभक्तले भाषा एकीकरणका सम्बन्धमा क्रान्तिकारी योगदान गरेको बताए।
कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।
त्यसैगरी, वीरगन्जको नयाँ बसपार्कस्थित भानुचोकमा आज आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण गरिएको छ। लक्ष्मी प्रसाद देवकोटा पुरस्कारबाट सम्मानित साहित्यकार भवानी क्षेत्रीले आदिकवि आचार्यको अनावरण गरे।
यसअघि बसपार्कको भानु चोकमा स्थापना गरिएको आदिकवि आचार्यको शालिक मधेस आन्दोलनका क्रममा भत्काइएको थियो। त्यही ठाउँमा अहिले वीरगन्ज महानगरपालिकाले निर्माण गरिदिएको नयाँ शालिक भानु जयन्तीकै अवसर पारेर अनावरण गरिएको हो।
भानु जयन्तीकै अवसरमा नारायणी वांग्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले कविता वाचन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रमको पनि आयोजना गरेको थियो।
भानु जयन्तीका अवसरमा आज आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । भानुभक्त जन्म्स्थल विकास समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ ।
समितिले चुँदी रम्घालाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको छ । चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको छ । चुँदीरम्घाको विकासका लागि समितिले सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेको छ ।
0 comment