काठमाडौं - बाढीका कारण सुनसरीको सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ।
अविरल वर्षासँगैको सुनसरी खोलामा आएको बाढीले शुक्रबार बिहान प्रहरी चौकी डुबानमा पर्दा प्राकृतिक प्रकोप एवं विपद्का बेला सर्वसाधारणको उद्धारमा सक्रिय हुनुपर्ने प्रहरी नै विस्थापित भएका छन्। हातहतियार, सञ्चार सामग्री तथा बन्दोबस्तीका सामानसहित बिहान ५:५० बजेतिर त्यहाँ कार्यरत प्रहरीले चौकी छाडेका हुन्। बाढी पस्दा प्रहरी चौकीको कम्पाउण्डभित्र ४ फिटसम्म पानी जमेको छ।
चौकीबाट विस्थापित बनेका प्रहरी हरिनगरा गाउँपालिका–५ स्थित सिसुवाधरमपुर आधारभूत विद्यालयमा गएर बसेका छन्। बाढीले मानवीय क्षति भने भएको छैन।
मुसलधरे वर्षापछिको बाढीका कारण मोरङ र सुनसरीका दर्जनौं स्थान डुबानमा परेका छन्। शुक्रबार बिहान लगभग ३ बजेदेखि निरन्तर वर्षा भइरहँदा खोला तथा नदीहरुमा पानीको बहाव उच्च बनेको छ। बाढी एवं डुबानग्रस्त क्षेत्रमा उद्धारका लागि सुरक्षा सक्रियता बढाइएको छ। डुबान एवं कटानबाट क्षति हुने सम्भावित स्थानमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। बाढी एवं डुबानको जोखिम बढी हुने स्थानमा उच्च सतर्कता अपनाउँदै सुरक्षा सक्रियता बढाइएको छ।
वर्षाका कारण पूर्वी तराईका कैयौं स्थान जलमग्न भएका छन्। कतिपय स्थानमा पानीले निकास नपाउँदा घरहरुमा बाढी पस्न थालेको छ। केही स्थानमा निकास तथा खोलाको बहाव थुनिने अवस्था उत्पन्न भएको छ।
मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहालगायतका दर्जनौं खोलामा बाढी आएको छ। बाढीले ठाउँठाउँमा कटान सुरु गरेको छ। डुबानका कारण पूर्वी र दक्षिणी क्षेत्र बढी प्रभावित बन्ने अवस्था छ। यता सप्तकोसी नदीमा बहाव बढ्दै गइरहेको छ। सप्तकोसीले सुनसरीको वराहक्षेत्र, रामधुनीलगायतका स्थानमा दायाँबायाँको १ सयदेखि १ सय ५० मिटरसम्म जमिन कटान गरिसकेको छ। खोला आसपासका क्षेत्रमा डुबान सुरु भएसँगै मानवबस्तीलाई सुरक्षित स्थानतर्फ सार्न प्रशासनले पहल गरिरहेको छ।
0 comment